काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता भट्टराईले अहिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको र उम्मेदवारहरूलाई जिताउन सबै नेताहरू एकजुट भएर लागेको बताउनुभयो। टिकट वितरणका क्रममा केही योग्य र पाउनै पर्ने व्यक्तिहरू छुटेको कुरा स्वीकार गर्दै उहाँले यस विषयमा निर्वाचनपछि पार्टीभित्र गम्भीर समीक्षा हुने र विगतका कमजोरीहरूलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
निर्वाचनका लागि एमालेले विज्ञहरूसँगको परामर्शमा घोषणापत्र तयार पारिरहेको र आगामी माघ अन्तिममा वा फागुनको पहिलो साताभित्र यसलाई सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो। पछिल्लो समय झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाको तर्फबाट बालेन शाहवीच प्रतिष्पर्धा हुने विषय उहाँले स्वभाविक रहेको उहाँले बताउनुभयो ।
दुई भावी प्रधानमन्त्रीका उम्मेदवार एउटै क्षेत्रमा भिड्दा चर्चा हुनु सामान्य भए पनि झापा ५ मा ओलीले गरेको विकासका कारण उहाँको विकल्प नभएको भट्टराईको तर्क छ। यद्यपि, बदलिँदो परिस्थितिका कारण यसपटक झापा ५ मा विगतमा भन्दा केही थप मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
जेनजी आन्दोलनका सन्दर्भमा बोल्दै भट्टराईले उक्त आन्दोलनले उठाएका सकारात्मक र महत्वपूर्ण विषयहरूलाई एमालेले आफ्नो घोषणापत्रमा प्राथमिकताका साथ समेट्ने बताउनुभयो । तर, आन्दोलनका नाममा हुने भौतिक संरचनाको तोडफोड, विध्वंश र अराजक क्रियाकलापका विरुद्धमा एमाले कडा रूपमा उभिने उहाँको भनाई छ।