Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी पीडितहरूको आवाज संसदसम्म पुर्‍याउने कुशलभ संकल्प

सहकारी पीडितहरूको आवाज संसदसम्म पुर्‍याउने कुशलभ संकल्प

  • बुधवार, माघ ७ २०८२

  • 1.1K
    SHARES

  • सहकारी पीडितहरूको आवाज संसदसम्म पुर्‍याउने कुशलभ संकल्प

    काठमाडौं । चार वर्षदेखि सहकारी पीडितको न्यायका लागि सडक आन्दोलन गर्दै आएका कुशलभ केसी अब संसदमा आवाज उठाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष केसीले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    नयाँ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले महासङ्घका पदाधिकारी र पीडितहरूसँग पुगेर उम्मेदवारी दर्ता गराए। उम्मेदवारीपछि उनले भने, “यो मेरो रहर होइन, बाध्यता हो। सरकारले हाम्रो आवाज नसुनेपछि संसदमार्फत बोल्नुपर्ने भयो।” केसीका अनुसार बानेश्वर क्षेत्र सहकारी पीडितको लामो संघर्षको केन्द्र रहँदै आएको छ। यही कारण महासङ्घको निर्णयअनुसार यही क्षेत्रबाट उम्मेदवारी दिएको उनले बताए।

    उनले राजनीतिक दलहरूले सहकारी पीडितको मुद्दालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए। “हामी राजनीति गर्न आएका होइनौं, पीडितको न्यायका लागि चुनावमा आएका हौं,” उनले भने। केसीले आफ्नो चुनावी अभियान पैसामा होइन, पीडामा आधारित हुने बताए। ठूला प्रचार, मासुभात र पैसा बाँड्ने परम्परामा आफू नलाग्ने उनको भनाइ छ। “घर–घर पुगेर सिधै मतदातासँग कुरा गर्छु,” उनले भने।

    निर्वाचन जितेमा संसदमा सहकारी पीडितको मुद्दा बलियो रूपमा उठाउने र कानुनी सुधारका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए। आर्थिक सीमितताका कारण सबै क्षेत्रमा उम्मेदवारी दिन नसकिए पनि कीर्तिपुर, भक्तपुर र ललितपुरमा पीडितहरूको तर्फबाट उम्मेदवारी दर्ता भइसकेको केसीले जानकारी दिए। 

    उनले काठमाडौं–१ का मतदातालाई आग्रह गर्दै भने, “फेरि सडकमा आन्दोलन गर्न नपरोस् भने यो पटक सही निर्णय गर्नुस्। पीडितको न्यायका लागि साथ दिनुस्।”


    बुधवार, माघ ७ २०८२१०:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij