Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीद्वयलाई पछि नहट्न दबाब, पार्टी विभाजन रोक्न भन्दै देउवा र शेखर पक्षको दौडधुप तीव्र, देउवा संवादका लागि सकारात्मक (खासखबर)

कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीद्वयलाई पछि नहट्न दबाब, पार्टी विभाजन रोक्न भन्दै देउवा र शेखर पक्षको दौडधुप तीव्र, देउवा संवादका लागि सकारात्मक (खासखबर)

  • सोमवार, पौष २८ २०८२

  • 471
    SHARES

  • कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीद्वयलाई पछि नहट्न दबाब, पार्टी विभाजन रोक्न भन्दै देउवा र शेखर पक्षको दौडधुप तीव्र, देउवा संवादका लागि सकारात्मक (खासखबर)

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा नीति र नेतृत्वबारे सामूहिक छलफल चलिरहेको छ ।

    महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि काठमाडौँमा जारी महाधिवेशनमा पार्टीमा पुस्तान्तरण र हस्तान्तरण हुनुपर्नेमा प्रतिनिधिहरू एकमत छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पछि नहट्न बन्दसत्र हलबाट दबाब बढाईरहेका छन् ।

    यता, विशेष महाधिवेशनलाई अस्वीकार गर्नुभएका कांग्रेस सभापति शेरवहादुर देउवादेखि शीर्ष नेताहरुले छलफललाई तीव्र बनाउनुभएको छ । पार्टी विभाजन हुन सक्ने भन्दै नेताहरुले त्यसलाई रोक्न दौडधुपमा छन् ।

    नेपाली कांग्रेसका सभापति देउवासँग उहाँको निवास महाराजगञ्जमा भेटेपछि नेता डा. शेखर कोइराला विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवादमै हुनुहुन्छ ।

    कोइरालाले दुवै पक्षबीच सहमति खोज्न आफूलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गरिरहनु भएको दावी गरिरहनु भएको छ । कोइरालाले आज दिउँसो आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्नुभयो ।

    सभापति देउवालाई भेटनुअघिको छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजान प्रतिबद्ध रहेको बताउनु भएको थियो । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी उहाँले दिनुभएको छ ।

    यता,चौतर्फी दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय थापा र शर्मासँग आफुले जतिवेला पनि संवाद र छलफल गर्ने पनि भन्नुभएको भनिएको छ ।

    देउवा निवासमा आज भएको छलफलमा केन्द्रीय सदस्यहरुले सभापति देउवालाई आफैँ पहल लिन अनुरोध गरेका थिए ।
    संस्थापन पक्षका नेता रामहरी खतिवडाका अनुसार देउवाले नेता कार्यकर्ता र कानुनविदहरूसँग पनि परामर्श गरिरहनु भएको छ । छलफलमा सहभागी नेता खतिवडाले पार्टीलाई बलियो बनाउनेबारे कुरा भएको बताउनुभएको छ ।

    ‘भृकुटीमण्डपमा शेखर कोइराला, पूर्णबहादुर खड्का को हुन्छ गएर सम्बोधन गरेर पार्टी एकता हुन्छ भने पनि त्यो गरौँ भनेर हामी लागेका छौँ ।’खतिवडाको भनाई छ ।

    संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार नगरेको यो कठिन परिस्थितीमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संविधान र कानुनसम्मत भएको भनी दाबी गर्नुभएको छ ।

    उहाँले बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा विशेष महाधिवेशन कसरी संविधान, कानुन र विधानसम्मत हो भनी एक शीर्षकसहितको तर्क गर्नुभएको हो ।

    सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतबाट आयोजित विशेष महाधिवेशनलाई अवैधानिक भनेर भनिरहँदा महामन्त्री थापाले विशेष महाधिवेशनको वैधताको आधार प्रस्तुत गर्नुभएको छ ।

    नेपालको संविधानले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने भनेको र त्यसअनुसार बनेको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नेपाली कांग्रेसको विधान प्रमाणीकरण बनेर निर्वाचन आयोगमा अभिलेखीकृत भएको जिकिर महामन्त्री थापाको छ ।

    यता नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्नुभएको छ ।

    पार्टीसभापति शेर वहादुर देउवा र कार्यवहाक सभापति खड्कालाई विशेष महाधिवेशनको बन्दसत्रमा सहभागीताका लागि आज दिउसोसम्म महामन्त्री थापाले अनुरोध गरिरहनुभएको थियो ।

    नेपाली कांग्रेसको जारी विषेश महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक र गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । बन्दसत्र भोलि पनि जारीरहने भएको छ ।

    पेश भएको प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको छ ।समूहगत छलफलपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने भनिएको छ ।

    समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधानमा आवश्यक संशोधन, परिमार्जन र पार्टीको संरचनागत र सांगठनिक सुधारको प्रस्ताव पेस भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनमा फरक मतलाई आत्मसाथ गर्ने र लोकतन्त्रमा सवैलाई न्याय र अपनत्वको अनुभव गराउन सक्नुपर्नेमा जोड दिईएको छ ।

    नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिनुभएको हो । प्रतिनिधि आउनेक्रम अझै पनि जारी रहेकाले ७० प्रतिशत पु¥याएर देखाइदिने विशेष महाधिवेशन पक्षधरको दावीे छ ।

    सभापति देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् । अझै पनि केहि विग्रिएको छैन यस्तो अवस्थामा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा बहुमत महाधिवेशन प्रतिनिधिसमक्ष भृकुटीमण्डप पुगेर नेतृत्व हस्तान्तरण गर्ने हिम्मत जुटाउने हो भने अझै पनि उहाँको बहिर्गमन सम्मानजनक नै हुनेछ ।

    र उहाँ पार्टीमा धन्यवादका पात्र बन्नुका साथै अग्रज नेताका रुपमा कार्यकर्ताले सधै सम्झिने अवसर गुम्ने थिएन । त्यसैले, अहिले सभापति देउवाले यो समयमा उचित निर्णय लिनु नै हितकर हुने देखिन्छ ।


    सोमवार, पौष २८ २०८२०७:५५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij