काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
आज दिउँसो १ बजेका लागि निर्धारण गरिए पनि एक घण्टा ढिला हुने भनिएको बैठक करिब डेढ घण्टापछि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिएका हुन् ।
बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पनि सहभागी हुने हुनुभएको छ । । बैठक सुरु भए पनि उहाँ अरु नेताभन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ ।
यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिनुभएको थियो । तर, बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको रणनीतिक बैठकमापछि भने केही समयकका लागि भए पनि बैठकमा सहभागी हुने स्रोतले जनाएको छ ।
बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो । ओली बैठकमा सहभागी हुने भएपछि बैठक डेढ घण्टा पर सारिएको हो ।
यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको थियो । बुधबार बिहान बसेको सो बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतको सहभागिता रहेको बताइएको छ ।
ओली सहभागि नहुने कुरा आएपछि यसअघि प्रचण्डपक्षले एकतर्फी रुपमा सचिवालय बैठक बसाउने तयारी गरेको थियो ।
मंगलबार बसेको सचिवालय बैठकमा दुईपक्षबीच भनाभन भएको थियो ।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधबारको बैठकमा आफू नआउने ओलीले मङ्गलबारै संकेत गरेका थिए ।
तर अरु नेताहरुले ओलीको भनाइको प्रतिवाद गर्दै अनौपचारिक सम्वादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोहीअनुसार बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी बैठकले निर्णय गरेको थियो ।