Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाद्वारा विज्ञप्ति निकालेरै आह्वान

विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाद्वारा विज्ञप्ति निकालेरै आह्वान

  • शुक्रवार, पौष २५ २०८२

  • 308
    SHARES

  • विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाद्वारा विज्ञप्ति निकालेरै आह्वान

    काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।

    पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।

    विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिनुभयो।

    विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायत रहेका छन्।

    विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै काँग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले जनतामा व्याप्त निराशा चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक व्यवहारको अन्त्य, मित्रवत प्रतिस्पर्धा र ‘जेन–जी आन्दोलन’को मर्मअनुसार युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताउनुभयो।

    यसैगरी, विशेष महाधिवेशनमा सहभागिका लागि औपचारिक आह्वान गर्दै काँग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी नेपाली काँग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै सबै प्रतिनिधिलाई सफलताका लागि सक्रिय हुन आग्रह गरिएको छ।

    काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पनि परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताउनुभयो।

    यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौँका लागि प्रस्थान गरिसकेका छन्। सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेको जनपरिचालन समितिले जानकारी दिएको छ।

    ‘जेन–जी आन्दोलन’पछि देशको बदलिएको राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस नयाँ रूप र नयाँ एजेन्डासहित जनतामाझ जानुपर्ने आवश्यकता देखिएकाले विशेष महाधिवेशन आयोजना गरिएको हो। प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थन गर्ने संख्या थप बढ्दै गएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ।


    शुक्रवार, पौष २५ २०८२१२:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij