काठमाडौं। कोभिड महामारीले नराम्रोसँग घुँडा टेकेको नीजि क्षेत्र विस्तारै लय समात्न थालेको बेला भएको जेनजी आन्दोलनको निशानामा परेपछी फेरी अहिले फेरी नराम्रोसँग थला परेको छ।
विगतमा हुने गरेका आन्दोलनमा खस्किएको मनोबल छोटो समयमै लयमा फर्किने गरेपनि यसपटक गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा तोडफोड, आगजनी, लुटपाट जस्ता विध्वंशमा निशानामै परेर ठुलो क्षति भोग्नुपर्दा नीजि क्षेत्रको मनोबल इतिहासकै न्युन बिन्दुमा पुगेको देखिन्छ।
तर, आन्दोलनलगत्तै धुलो टकटकाएर भएपनि माथी उठ्ने साहस देखाएका नीजि क्षेत्रका उद्योगी व्यवसायी ४ महिना पुरा हुँदासम्म पनि सरकारले उचित सुरक्षाको प्रत्याभुती दिलाउन र विश्वासको वातावरण बनाउन नसक्दा अवस्था दयनीय बनेको गुनासो गर्न थालेका छन्।
आन्दोलनमा व्यापारिक प्रतिष्ठानमाथिको आक्रमणले करिब ८५ अर्बको क्षति भएपछि सुरक्षाप्रति बढी चिन्तित छन्। आन्दोलनका नाममा घुसपैठ गरी उद्योग व्यवसायमाथी आक्रमण, उद्योग व्यवसायमा आगजनी, तोडफोड, लुटपाटजस्ता विध्वंश मच्चाउनेहरुलाई कानुनी दायरामा ल्याउन र लगानी सुरक्षाको ग्यारेन्टी गर्न पनि उनिहरुको माग छ।
तरपनि अहिलेसम्म अराजकतामा संलग्नहरु दायरमा नआउँदा थप चिन्तीत बनेका व्यवसायीहरुले सरकारलाई घचघचाउन भने छाडेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार पनि ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेर सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुसँगै पूर्वप्रधानमन्त्री, राजनैतिक दल, राजनीतिज्ञ, उद्योगी व्यवसायी,जेनजी अगुवालगाएतसँग छलफल गरेको छ।
सोहीक्रममा सरोकारवालाहरुले निजी क्षेत्रले काम गर्ने वातावरण नहुँदासम्म सिँगो मुलुककै आर्थिक समृद्धि प्राप्त नहुने धारणा राखेका छन्। निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा रहेकाले त्यसलाई उकास्न सबै आआफ्नो स्थानबाट जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् भने जेनजी आन्दोलनपछि त्रसित निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारदेखि प्रमुख राजनीतिक दलहरु सहमत भएका छन्। तरपनि निजी क्षेत्र विस्वस्त हुन सकेको छैन।
महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले लगानी मैत्री वातावरणसँगै सम्पत्तिको सुरक्षा ग्यारेन्टी नगरी निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न नसक्ने बताउनुभयो। जेनजी आन्दोलनमा तोडफोड र आगजनी जस्ता ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउने हो कि भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो। समृद्धिका लागि निजी क्षेत्रलाई पर्याप्त संरक्षण नपुगेको उहाँको दाबी छ।
निजी क्षेत्रको मनोबल उकास्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारदेखि प्रमुख राजनीतिक दलहरु सहमत भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिनुपर्ने र निजी क्षेत्रप्रतिको दृष्टिकोण बदल्नु पर्नेमा जोड दिनुभयो।
निजी क्षेत्रलाई हेर्ने सोचमै कमजोरी रहेका कारण अपेक्षित आर्थिक उपलब्धि हासिल हुन नसकेको प्रचण्डको दाबी छ। निजि क्षेत्रको संरक्षण, प्रोत्साहन गरि लगानीमैत्री वातावरण नबनाएसम्म विकास र समृद्धि सम्भव नहुने उहाँको जिकिर छ।
त्यस्तै नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेनजी आन्दोलनमा नीजि क्षेत्रमाथी भएको आपक्तिजनक तथा दण्डनीय घटनामा संलग्नहरूमाथि कारबाही नहुनु चिन्ताको विषय भएको बताउनुभयो।
उक्त घटनाप्रति सरकार गम्भिर बन्नुपर्नेमा उल्टै उदार देखिएको भन्दै उहाँले आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरु सिसि क्यामरा तथा भिडियोमा देखिँदासमेत दण्डित नगरिनु कुनै हालतमा उचित नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभयो।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनपछि सरकारले नीजि क्षेत्रमा लगानी सुरक्षाको प्रत्याभुती दिलाउन नसक्दा अहिले ठूलो मात्रामा नेपाली पुँजी पलायन भइरहेको दाबी गर्नुभयो।
भदौ २४ मा भएको घटनाले गरेको क्षतिले नकारात्मक सन्देश दिँदै नीजि क्षेत्रमा लगानीको मानसिकता नै समाप्त गरेकोले यो समयमा वर्तमान अवस्था सुधार्न नसके अर्थतन्त्र नै गम्भीर समस्यामा पर्नसक्ने चेतावनी दिनुभयो।
तर, सरकारले भने निजीक्षेत्रको सुरक्षामा दृढ रहेको दाबी गर्दै नीजि क्षेत्रको मनोबल उकास्न र जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्नलाई दायरामा ल्याउने प्रतिवद्धता दोहोराउन भने छाडेको छैन।
स्वयं प्रधानमन्त्री सुशीला कार्कीले सरकार उद्योग, व्यवसायको संरक्षण गर्न र आगजनी तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन जुनकुनै कदम चाल्न पनि सरकार पछी नहट्ने जिकिर गर्नुभयो।
आन्दोलनमा क्षतिग्रस्त उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत माग सम्बोधन गरिएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले ढुक्कका साथ लगानी गर्न आह्वान गर्नुभयो।
मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै सुरु भएको आन्दोलन भड्किएपछी सुर भएको आगजनी, तोडफोड, लुटपाट र विध्वंशले ८५ अर्वबढीको क्षति हुन पुगेको छ। जसमा नीजि क्षेत्रले मात्रै करिब ३५ अर्ब हाराहारी क्षति भोगेको छ।
तर उक्त विध्वंसमा संलग्नहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन। जसकारण नीजि क्षेत्रको मनोबल खस्किएर इतिहासकै न्युन बिन्दुमा पुगेको छ। तरपनि सरकारले मनोबल उकासिने गरी सुरक्षा प्रत्याभुति दिलाउँदै नयाँ लगानीको वातावरण बनाउनुपर्नेमा कामै गर्न सकेको देखिँदैन।
यसले नत नयाँ लगानी हुन सकेको छ नत बाह्य लगानी नै भित्रिन सकेको छ, उल्टै मुलुकबाट लगानी तथा पूँजी पलाएनको जोखिम बढ्दै गएको छ। यसतर्फ सरकार जिम्मेवार र सजग बन्न अत्यावश्यक देखिएको छ।