काठमाडौं । राप्रपाको काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ को निर्वाचनका लागि प्रतिनिधि सिफारिसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
राप्रपाको आज बसेको क्षेत्रिय समितिको बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित ४ जना र समानुपातिकमा प्रा.डा.जयन्तनाथ खनालसहित ६ जना सिफारिस भएको स्पष्ट पार्दै सामाजिक संजाल र केही सञ्चार माध्यममा आएका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरेर सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी गराउँदै बैठकले पूर्ववतः निर्णयमा कुनै फेरबदल नभएको र सोही निर्णयमा प्रतिबद्ध रहेको जनाएको छ ।
बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बाग्मती प्रदेश ख का अध्यक्ष भिमसेन पूरी, समिति सदस्य, विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा ३१ का अध्यक्ष चमन कोइराला, वडा ११ का अध्यक्ष अम्बिका अर्याल, वडा २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य २९ का शक्ति चौंलागाईं, वडा २९ का विपिन वली र वडा ३१ सचिव रामकिशोर सहभागी थिए । कुल १६ सदस्यीय समितिमा ११ सदस्यको बहुमतले यो निर्णय गरेको हो ।
यसअघी वरिष्ठ उपाध्यक्ष मिश्र पक्षले पनि काठमाडौं–१ बाट उम्मेदवारका रूपमा छुट्टै सिफारिस गरेको थियो। मिश्रलाई पहिलो नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गरिएको थियो।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ र राम तन्डुकार छन्। त्यस्तै समानुपातिक तर्फ मिना सुवेदी, रविना शाही र सुमिरा कार्की छन्।