काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालयको आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेताहरु माधव नेपाल झलनाथ खनालबीच चर्काचर्की परेको छ ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकको आरम्भमै प्रधानमन्त्री ओलीले बैठक नै बस्न दिन्न भनेपछि चर्काचर्की परेको थियो । बैठक बस्नै दिन्न भन्दै ओलीले प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न भनेपछि सबैले प्रतिवाद गरेको सचिवालय सदस्य एव वरिष्ठ नेता झलनाथ खनालले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।
शुरुमै आक्रामक देखिनुभएका प्रधानमन्त्री ओलीको अन्य नेताहरुले चर्को प्रतिवाद गरेका थिए । प्रधानमन्त्री ओलीले प्रस्तावमाथी छलफल आवश्यक नै नरहेको बताउँदा अन्य सचिवालय सदस्यले सचिवालयमा पेश भैसकेका प्रस्तावमा छलफलगर्नैपर्नेमा जोड दिएपछि दुवै प्रस्ताव औपचारिक छलफलमा प्रवेश गरेका हुन् ।
सचिवालय बैठकमा दुवै प्रस्ताव फिर्ता हुनुपर्ने र साझा प्रस्ताव अघि बढाउनुपर्ने अध्यक्ष ओली पक्षको प्रयास रहँदै आएको थियो । उता प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष भने पेश भैसकेका प्रस्ताव छलफलमा जानुपर्ने अडानमा थियो ।
औपचारिक छलफल प्रारम्भ भएको बताइएपनि प्रस्तावमाथी बुँदागत छलफल भने शुरु भएको छैन ।नेताहरुका अनुसार आजको बैठक पनि दुवै अध्यक्षबीचको सवाल जवाफ र घोचपेच मै सकिएको हो । दुवै अध्यक्षले एक अर्काको प्रस्तावको आलोचना गर्दै आफ्नो वचाउ गर्नुभएको थियो ।
सहमती उन्मुख भन्दा पनि दुवै अध्यक्षका बयान एकअर्कामाथी खनिने गरि आएपछि अन्य सदस्यले बाँकी छलफल भोली गरौं भन्ने प्रस्ताव राखेका थिए । भोली दिउँस १ बजे फेरि बस्ने सचिवालय बैठक अगावै सहमतीका विन्दु पहिल्याउन अनौपचारिक छलफललाई प्राथमिकता दिने समेत निर्णय भएको छ ।
दुवै अध्यक्ष राजनीतिक, सैद्धान्तिक र बुँदागत विषयमा भन्दा पनि व्यक्तिगत आरोप प्रत्यारोपमै सिमित भएपछि बैठकबाट निकास निस्कने संभावना भने कम हुँदै गएको छ । त्यसैले अनौपचारिक छलफललाई प्राथमिकता दिइएको बताइएको छ । सचिवालयका अन्य सदस्य र दोस्रो तहका नेताहरुले आजैदेखि अनौपचारिक छलफल सुरु गरिसकेका छन् ।
यसैबीच सचिवालय बैठक निर्णयविहिन लम्बिहिरहँदा पर्सि विहिवारलाई तय गरिएको स्थायी कमिटी बैठक भने अन्यौलमा परेको छ । प्रधानमन्त्री ओली पक्ष स्थायी कमिटी बैठक सार्ने रणनितीमा देखिन्छ भने प्रचण्ड माधव झलनाथ पक्ष सचिवालय बैठक सँगसँगै स्थायी कमिटी बैठक पनि बस्नुपर्ने अडानमा छ ।