काठमाडौं। आगामी फागुन २१ गतेका लागी तय निर्वाचन समयमै सम्पन्न गर्नका लागी सरकार थप बलियो बन्दै गएको छ। सुरुवातमा सुरक्षा थ्रेटका कारण निर्वाचनको वातावरण नबनेको भन्दै विभिन्न बाहनावाजी गर्दै आएका दलहरु पनि चुनावका लागी लचक बन्दै गएपछी अन्तरिम सरकारलाई थप बल मिलेको हो।
जेनजी आन्दोलनले ल्याएको उथलपुथलले गत भदौ २४ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार बहिर्गमनमा परेपछी बनेको शुसीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २७ गते प्रतिनिधी सभा विघटन गरी आगामी फागुन २१ का लागी निर्वाचनको मिति घोषणा गरेको थियो। सोही अनुसार आन्तरिक तयारीसहित आफ्ना नियमित काम कारबाही अगाडी बढाउँदै आएको सरकारले यसअघी विभिन्न शंका आशंकाकाबिच पनि तोकिएकै मितिमा निर्वाचन अराउने अठोट लिएको थियो।
तथापी तत्कालिन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसहितका केही दलहरुले सरकारले आन्दोलनपछी उत्पन्न सुरक्षा थ्रेटको अन्त्य गर्न नसकेकोले तोकिएकै मितिमा निर्वाचन हुन नसक्ने टिप्पणी गर्दै आएका थिए। तर सरकारले पटकपटक गर्दै आएको द्विपक्षीय तथा बहुपक्षीय छलफल एवं वार्ताले सबै दलहरुलाई निर्वाचनमा लचक बनाएको छ।
दलहरु लचक बनेपछी र निर्वाचन आयोग तथा सुरक्षा निकायले पनि समयमै निर्वाचन गर्नका लागी कुनै द्विविधा नरहेको बताएपछी ढाडस पाएको सरकारलाई निर्धारित समय फागुन २१ मै निर्वाचन गर्ने वाताबरण बन्दै गएको छ। अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले यहिबिचमा पनि दल, आयोग, सुरक्षा निकायदेखी सरोकारवालाहरुसँग कहिले बेग्लाबेग्लै त कहिले सामुहिक रुपमा छलफल गर्दै आउनुभएको छ।
हरेक छलफलमा फागुन २१ मा जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने उहाँको प्रतिबद्धता छ। सोहीअनुसार हिजो शुक्रबार बसेको सरकारसँगै, आयोग, दल र सुरक्षा निकायको सर्बपक्षीय छलफलमा पनि उहाँले निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका सबै निकाय र अंगहरू तयार रहेकोले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता दोहोराउनुभयो।
अहिलेको सरकार दलविरोधी नरहेको जिकिर गर्दै उहाँले राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको बताउनुभयो। अहिलेको परिस्थितिमा निर्वाचनबाहेक अर्को विकल्प नै नरहेकोले सबै दल र सरकार एकचित्त भएर लागेदेखी चुनावमा कुनै आशंका नजन्मिने र खराब तत्वले पनि आक्रमण गर्न नसक्ने बताउनुभयो।
सरकारका तर्फबाट प्रधानमन्त्रीले निर्वाचन सुनिश्चीतताको प्रतिवद्धता जनाएसँगै र दलहरु पनि लचक तथा निर्वाचनका लागी तयार देखिएपछी सर्बपक्षिय वार्ताले पनि चुनावी वातावरण बन्दै गएको निश्कर्ष निकालेको छ । तथापी दलहरुले भने सुरक्षा थ्रेट कायमै रहेकोले यसतर्फ सजग हुन सुझाव दिएका छन्।
निर्वाचनमै केन्द्रित सर्वपक्षिय छलफलमा सहभागी सबै दलहरु फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको र सरकार पनि निर्धारित समयमै निर्वाचन गराउन प्रतिवद्ध पाइएको जानकारी दिँदै नेपाली कांग्रेसको नेत्री पुष्पा भुसालले आँफुहरु निर्वाचन सफल बनाउन आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाएको बताउनुभयो।
निर्वाचनबाट मात्रै संविधानबाट प्राप्त गरेको उपलब्धिलाई प्राप्त गर्न सकिन्छ भनेर कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नै निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको बताउँदै उहाँले सुरक्षा थ्रेटदेखी पूर्ण विश्वासको वातावरण बनाउने जिम्मेवारी सरकारको भएकोले त्यो पुरा गर्न सुझाव दिएको बताउनुभयो।
छलफलमा निर्वाचनका लागी सरकार, आयोग, सुरक्षा निकाय र दलहरुको तयारीका विषयमा जानकारि लिने र दिने काम भएको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता प्रकाश ज्वालाले बताउनुभयो। चुनावको वातावरणका निम्ति शान्ति सुरक्षा अझै सुदृढ गर्नुपर्ने भएकोले आँफुले पनि सरकारको काम निर्वाचनमा अर्जुन दृष्टि राख्नुपर्ने सुझाव दिएको उहाँको भनाई छ।
यस्तै,,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले बैठकमा निर्वाचनबारे शान्ति सुरक्षा, विदेशमा रहेका नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकले त्यहीबाट मतदान गर्न पाउने विषय उठाइएको बताउनुभयो। सकेसम्म यहि निर्वाचनमा बाहिरबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण मिलाउन सुझाव दिएको बताउँदै उहाँले समग्रमा निर्वाचनका लागी वातावरण मजबुत बन्दै गएको पाइएको पनि जानकारी दिनुभयो।
सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको सरकारले पनि अनुभुत गरेको छ। यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा यसपटक निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहौल बनेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो।
संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनमा जाने बाटो अझ बलियो बनेको भन्दै मन्त्री खरेलले निर्वाचन तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने वातावरणको सुनिश्चिता गरेको बताउनुभयो।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले गत भदौ २३÷२४ गते गरेको आन्दोलनले गरेको उलटफेरपछी कार्की नेतृत्वमा बनेको वर्तमान अन्तरिम सरकारले अहिले विभिन्न शंका आशंकाकै विचमा पनि निर्धारित समय फागुन २१ मै निर्वाचन सम्पन्न गर्ने रणनीतिका साथ अगाडी बढिरहेको छ। देशलाई अहिलेको विसम परिस्थितिबाट निकास दिन निर्वाचन अपरिहार्य पनि छ।
सोहीअनुसार यसअघी विभिन्न चरणमा छलफल गरेको सरकारले यतिबेला सर्बपक्षीय छलफल गरि निर्वाचनका लागी थप वातावरण निर्माण गर्ने प्रयत्न गरेको छ। जसले दलहरुलाई पनि निर्वाचनमा जान वाध्यकारी रुपमा लचक बनाउँदै लगेको छ।
तसर्थ अब दलसँगै निर्वाचनसँग सम्बद्ध सबै निकायले देशको विगत र वर्तमानलाई स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन र निर्वाचनमार्फत देशलाई निकाश दिन जिम्मेवार बन्न जरुरी देखिन्छ।