काठमाडौं। आगामी फागुन २१गतेका लागी तय प्रतिनिधिसभा निर्वाचनमा कुल १२० दलले सहभागीता जनाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचनमा भाग लिने प्रयोजनका लागि गरेको दल दर्ता आह्वानमा ११९ दलबाट १२० वटा निवेदन परेका हुन्।
जेनजी आन्दोलपछी उत्पन्न परिवर्तित अवस्थामा बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागी निर्वाचनको मिति घोषणा गरेर चुनावी तयारी अगाडी बढाएको हो। सोहीअनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलनदेखी दल दर्ताको काम सम्पन्न गरिसकेको छ।
जसअनुसार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै १४ दलसहित १२० दल निर्वाचनको मैदानमा होमिएर आफूलाई जनतामा परीक्षण गराउन तयार देखिएका हुन् । दल दर्ताको अन्तिम मिति गत आइतबारसम्म १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६वटा निवेदन परेका छन्।
तिनैमध्येका ९ दलले छुट्टाछुट्टै निवेदन पनि आयोगमा बुझाएका छन्। त्यसबाहेक एक्लै चुनाव लड्ने गरी १०५ दलबाट प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन आएको आयोगले जनाएको छ। यसपटक पुराना राजनीतिक शक्तिलाई चुनौती दिन एक महिनायता मात्र दर्ता भएका २५ दल पनि निर्वाचनमा होमिँदै छन्।
त्यसबाहेक आयोगमा दर्ता रहेका अन्य दल पनि चुनावमा जाने तयारीमा छन्। आयोगमा दर्ता दलको संख्या भने १४३ पुगेको छ। आयोगमा दर्ता भएका दलले निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधानअनुसार १ देखी १४ मंसिरसम्मको समय तोकिएको थियो।
यो अवधीमा परेका निवेदनमाथि अब छानबिन गरी आयोगले अन्तिम सूची राजपत्रमा प्रकाशन गर्ने प्रवक्ता नारायणप्रसाद भटराईले जानकारी दिनुभयो। भटराईका अनुसार आयोगले १२० दल दर्ताका निवेदन र एकल चुनाव चिह्न लिने गरी परेका ६ वटा निवेदनमा अध्ययन गरी मंसिर २० गतेसम्म निर्णय दिनेछ। आयोगले व्यस्त तालिकाको साथमा काम अगाडी बढाएको भट्टराईको भनाई छ ।
यसपटक निर्वाचनमा भाग लिन राजनीतिक दलहरूको उत्साहजनक उपस्थिति देखिएकोले नयाँ पुराना सबै दललाई सहजीकरण गरेको आयोगको जिकिर छ। अहिले पहिलोपटक सहभागी हुन लागेका २६ नयाँ दल छन् जसमध्ये धेरैजसोले संगठन विस्तारसँगै चुनावी गठबन्धन र सहकार्यको रणनीतिका साथ चुनावी तयारीमा उत्रिसकेका छन्।
यसपटक दलहरुसँगै मतदाता र मतदानस्थल तथा केन्द्र पनि थपिँदैछ। गत निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७०जना मतदाता हुँदा १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेकोमा यसपटक ८ लाख बढी मतदाता थपिएसँगै ७५ मतदानस्थल र त्यसको दोब्बरदेखि तेब्बर मतदान केन्द्र थप हुनेछन्।
यसपटक थपिएका ८ लाख ३७ हजार ९४ मतदाता सबै कायम रहेको अवस्थामा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुग्नेछ। निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ता र मतदाता नामावली संकलनसँगै आयोगले पहिलोचरणको काम करिब सम्पन्न गरिसकेको छ।
आयोगले निर्वाचन सामाग्री खरिदका लागी पनि टेण्डर प्रक्रियाको अन्तिम चरणमा पुगीसकेको बताउँदै सुचना अधिकारी घिमिरेले अव आयोगले दोश्रो चरणको कामअन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाईको कामदेखी मतदाता शिक्षा, तालिम जस्ता कामहरु सुरु गर्ने जानकारी दिनुभयो।
यता,आयोगसँगै सरकारले पनि निर्वाचनको आन्तरीक तयारी तिब्र पार्दै गएको छ। सरकारले अहिले निर्वाचन सुरक्षादेखी कार्ययोजना निर्माण गरी तत्तत् निकायमा पठाउने काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले विगतमा वातावरण नबनेको भन्दै निर्वाचनका लागी विभिन्न आशंका हुने गरेकोमा अब त्यो सबै चिरिइसकेको र निर्वाचनका लागी विश्वस्त वातावरण बन्दै गएको बताउनुभयो।
मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी समुहले थालेको आन्दोलनले गत भदौ २४ गते तत्कालिन सरकार बहिगर्मन गरेपछी सृजित विसम परिस्थितिको सामना गर्न निर्मित वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी फागुन २१ का लागी निर्वाचनको मिति तय घोषणा गरेको थियो।
सोही निर्वाचनका लागी सरकार, निर्वाचन आयोग,राजनैतिक दल, सुरक्षा निकायलगायत सम्बद्ध निकाय सबै आवश्यक तयारीमा व्यस्त छन्। यसपटक परिवर्तित माहौलमा मौकाको फाइदा उठाउने लक्ष्यका साथ २६ वटा नयाँ दलसहित कुल १२० वटा दल निर्वाचनमा होमिँदैछन्।
दलसँगै यसपटक ८ लाख बढी मतदातामा यो निर्वाचनमा सहभागी हुँदैछन्। सुरुवातमा दलहरुका गतिविधीले निर्वाचनको माहौल बन्न नसकेजस्तो देखिएपनि सरकारको निरन्तर परामर्श र छलफलले दलहरु तयार बनेसँगै निर्वाचनको वातावरण बन्दै गएको छ।