काठमाडौँ । नेपाली काँग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौमा विषेश भेलाको आयोजना गरेको छ । दिउसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको आयोजक मध्येका नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो । भेलामा काठमाडौ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउदै गरेको अर्का नेता मनोजमणी आचार्यले जानकारी दिनुभयो ।
जेन्जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन् ।
उनीहरुले विषेश महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए ।
काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विषेश महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेकाले पुष २८ भित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ ।
वहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विषेश भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका काँग्रेस युवा नेता युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भोलीको केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिइने बताउनु भयो ।