काठमाडौं। आगामी फागुन २१ गतेका लागी तय निर्वाचनका लागी आम राजनैतिक दलहरु आन्तरिक रणनीति निर्माणमा जुटेका छन्। सरकारले उचित वातावरण निर्माण गर्न नसकेकोले तोकिएको समयमा निर्वाचन नहुने टिप्पणी गर्दै आएका दलहरु अहिले आँफै निर्वाचनको तयारीमा जुटेका हुन्।
जेनजी आन्दोलनले ल्याएको उलटफेरपछी तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बहिर्गमनमा परेपछी बनेको अन्तरिम सरकारले संसद विघटन गरी आगामी फागुन २१ गतेका लागी निर्वाचनको मिति घोषणा गरेर आवश्यक तयारी तिब्र पार्दै गएको छ।
सरकारको तयारी अनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी स्वरुप आफ्नो काम कारबाहीलाई तगारुकताका साथ अगाडी बढाउदै गएको छ। तरपनि तत्कालिन सरकारको नेतृत्वकर्ता एमाले सहितका दलहरु भने सरकारले उचित वातावरण निर्माण गर्न नसकेकोले तोकिएको समयमा निर्वाचन हुनेमै आशंका रहेको भन्दै निर्वाचनबाट पन्छीने दाउ अपनाउँदै आएका थिए।
तथापी सरकार र निर्वाचन आयोगले दलहरुसँग समयसमयमा छलफल गरी निर्वाचनको तयारी तिब्र पार्दै गएपछी र अन्य सबै दलहरु निर्वाचको रणनीतिमा जुटेपछी अहिले एमाले सहितका दलहरु पनि निर्वाचनका लागी आन्तरिक रणनीति तिब्र पार्दै गएका छन्। भने यसअघी सबै राजनैतिक दलका प्रतिनिधीहरुसँग छलफल र परामर्श गर्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले यतिबेला विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुट्नुभएको छ।
निर्वाचनको वातावरण बनाउन दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन्।जसले निर्धारित समयमै निर्वाचन हुने विश्वासको वातावरण बन्दै गएको जानकारहरुको बुझाई छ।
अहिले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागी तयारी तिब्र पार्दै गैरहेकोले निर्धारित समयमा चुनाव हुनेमा आशंका व्यक्त गर्नुपर्ने अवस्था नरहेको बताउँदै राजनैतिक विश्लेषक मुमाराम खनालले वातावरण विथोलिए एमालेका कारण विथोलिने भएपनि त्यो सम्भावना पनि नरहेको बताउनुभयो।
जेनजी विद्रोहले निम्त्याएको ध्वंसपछी विस्तारै तङ्ग्रीन लागेको देशमा संविधान र लोकतन्त्रलाई सहि लिकमा ल्याउन निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेकोले यसमा सबै दलहरु जानकार रहेको बताउँदै विश्लेषक खनालले दलहरुलाई पनि निर्वाचनबाट भागेर जाने विकल्प नरहेकोले निर्वाचनमा अनिवार्य जानैपर्ने अवस्था रहेको बताउनुभयो। सरकारले पनि आवश्यक तयारी प्रयाप्त रुपमा अगाडी बढाएको उहाँको जिकिर छ।
निर्धारित समयमै चुनाव सम्पन्न गराउन मुख्य अख्तियारी प्राप्त निकाय निर्वाचन आयोगले आफ्नो तयारी करिब करिब सकिसकेको र सरकारले पनि आवश्यक काम कारबाही गरिरहेकोले निर्वाचन हुनेमा र दलहरु जानेमा शंका नरहेको राजनैतिक विश्लेषक गोविन्दमान सिंह कार्की बताउनुहुन्छ।
यसपटक विषेश समयमा हुन लागेको निर्वाचन भएकोले सरकारको तयारीमा चिन्तीत हुनुपर्ने र निर्वाचनमा शंका गर्नुपर्ने अवस्था नरहेको बताउँदै उहाँले सरकारले नचाहेसम्म निर्वाचन नधकेलिने जिकिर गर्नुभयो।
निर्वाचनका लागी सुरुमा सरकारले वार्ता गरेन भनेर आलोचना र टिप्पणी गर्ने सबै दलसँग दोहोरो वार्ता भैसकेको र सबैले निर्वाचनमा जान प्रतिवद्धता जाहेर गरिसकेको बताउँदै राजनैतिक विश्लेषक शंकर तिवारीले तोकिएकै समयमा निर्वाचन हुनेमा विश्वास बढ्दै गएको बताउनुहुन्छ।
तत्कालिन प्रधानमन्त्री ओलीले राजिनामा दिएर भागेपछी संसद विघटन भएको अवस्थामा कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारलाई निर्वाचनकै कार्यादेश रहेकोले त्यसैमा केन्द्रित बनेको भन्दै उहाँले कांग्रेससहित संसदमा प्रतिनिधीत्व गर्ने दल पनि निर्वाचनकै लागी पार्टीभित्रै ध्रुविकरणमा जुटेकोले सरकार र दलकै सहमती बेगर निर्वाचन धकेलिने वा नहुने अवस्था नरहेको बताउनुभयो।
यद्यपी शान्ति सुरक्षाका मामलामा भने सरकार र जेनजी थप संयमित नभएको खण्डमा आन्दोलनको उपलब्धी नै गुम्ने खतरा भने कायमै रहेको बताउनुभयो।
यसो त यता सरकार पनि निर्धारित समयमै निर्वाचन हुनेमा विश्वस्त रहन पटकपटक आग्रह गर्दै आएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधमिन्त्री जगदिश खरेलले दलहरुसँगै सबै सरोकारवालासँगको छलफल र वार्ता सकारात्मक रहेको र आयोग तथा सरकारले पनि आफ्नो तयारी तिब्र पारेकोले निर्धारित समयमै निर्वाचन हुने जिकिर गर्नुभयो।
खासगरी, जेनजी आन्दोलनका क्रममा भएका सुरक्षा निकायका कार्यलय तोडफोड र हतियार लुटपाट तथा फरार कैदिबन्दीहरुलाई अझै फिर्ता ल्याउन नसकेकोेले सरकारले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन नसक्ने भन्दै एमालेसहितका दलहरुले विभिन्न बाहनाबाजी गर्दै आएका हुन्।
तथापी सरकार र आयोगले निर्वाचनका लागी गरेको छलफलमा सहभागी हुने क्रममा एमालेसहित सबै दलले निर्वाचनमा सहभागीताका लागी प्रतिवद्धता जाहेर गरिसकेका छन्। सोहीअनुसार सरकार र आयोगले तयारी तब्र पारेका हुन् भने दलहरु भने निर्वाचनका लागी आन्तरिक रणनीति तिब्र पार्दै गएका छन्। यसले नै निर्वाचनका लागी विश्वासको वातावरण बनाउँदै लगेको छ।