Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड

  • शुक्रवार, कार्तिक २८ २०८२

  • 683
    SHARES

  • निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
    काठमाडौँ। प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
     
    प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
     
    समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधँै अग्रमोर्चामा उभिने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको बताउनुभयो ।
     
    राजनैतिक विश्लेषक तथा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पूर्वप्रवक्ता डा. गंगाधर अधिकारीले कांग्रेसले रुपान्तरण सहितको नयाँ नेतृत्व लिएर आगामी फागुनका लागी तय निर्वाचन जानुपर्नेमा जोड दिनुभयो । 
     
    उहाँले कांग्रेसले १५औँ महाधिवेशन समयमै सम्पन्न गरेर आमनागरिकमा आशा जगाउने गरी नयाँ योजना र कार्यक्रम ल्याउन नसके देशको वर्तमान परिस्थीतिलाई सम्बोधन गर्न नसक्ने जिकिर गर्नुभयो । 
     
    वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेनजी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उहाँले बताउनुभयो ।
     
    समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्नका लागि पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने उहाँको भनाइ थियो । 
     
    वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । राजनीतिक पार्टीले संविधान संशोधनको एजेण्डालाई लिएर अदालतमा जानसके संसद् पुनःस्थापना हुन सक्नेतर्फ उहाँको थियो । कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने उहाँले बताउनुभयो ।
     
    वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताउनुभयो । उहाँले भदौ २३ र २४  गतेको घटनालाई पार्टीले सुक्ष्म रुपले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । संविधानलाई जोगाउन निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।
     
    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताउनुभयो । प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
     
    नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलले  विकल्प दिन नसकेकाले जेनजी आन्दोलन भएको बताउनुभयो । संसद् पुनःस्थापनाभन्दा निर्वाचनमै दल जानुपर्ने उहाँले बताउनुभयो । उहाँले आमनागरिकमा आशा जगाउने नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुभयो ।
     
    राजनीतिक विश्लेषक विनोद भट्टराईले पार्टीका नेताभित्र इच्छाशक्ति भए कांग्रेस १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताउनुभयो । कांग्रेस अहिलेको अवस्थामा यहि नेतृत्वलाई लिएर चुनावमा गए पार्टीले सुखद् नतिजा ल्याउन नसक्ने बताउनुभयो ।
     
    समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार तेजप्रसाद पण्डितले आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।
     
    समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले विसं २०५२ मा स्थापना भएको समाजले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसाथ गर्दे अगाडि बढेको बताउनुभयो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा राय, सुझाव समेट्ने काम समाजले गरिरहेको उहाँको भनाइ छ ।
     
    समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरुको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका ५० जना बढी सहभागी विषयविज्ञ तथा सरोकारवालाहरुले आ आफ्नो धारणा राखेका थिए । 

     


    शुक्रवार, कार्तिक २८ २०८२०८:२६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij