काठमाडौं। जेनजी आन्दोलनले खस्किएको निजी क्षेत्रको मनोबल उकास्ने पहल सुरु गरिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटबाट ठुलो क्षति बेहोरेपछी खस्किएको निजि क्षेत्रको मनोबल उकास्न उद्योग वाणीज्य महासंघले प्रयास थालेको हो।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलन भड्किएपछी निशानामा परेको निजि क्षेत्रले झण्डै एक खर्बको क्षति बेहोरेको थियो। जसबाट मनोबल खस्किएका व्यावसायीले अझैसम्म ढुक्कसँग लगानीको वातावरण पाउन नसक्दा पुरानो क्षतिबाट उकासिने प्रयत्न नै गर्न सकेका छैनन्।
यसैलाई मध्यनजर गरेर उद्योग वाणीज्य महासंले आज निजि क्षेत्रको मनोबल उकासिने गरी लगानीको वातावरण सृजना गर्दै विसम परिस्थितिमा रहेको मुलुकको अर्थतन्त्रलाई पनि टेवा दिने प्रयत्नस्वरुप सरकार तथा सरोकारवाला पक्षको सहभागीतामा बृहत आर्थीक बहस २.० कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा निजि क्षेत्रले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको निष्पक्ष अनुसन्धान र निजी क्षेत्रको सहभागीतामा संयन्त्र निर्माण गर्न जोड दिएको छ भने सरकारले निजि क्षेत्रको मनोबल उकास्ने प्रयत्नका लागी प्रतिवद्धता जाहेर गरेको छ।
कार्यक्रममा उद्योग वाणीज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यसपटक जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजि क्षेत्रले अहिलेसम्म उठ्न नसकेकोले यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। अध्यक्ष ढकालले हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि नै प्रहार हुने गरेको स्मरण गराउँदै यसपटक अझै बढी आहत भएको बताउनुभयो।
यद्यपी युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको अवस्थामा निजी क्षेत्र पनि खरानी टकटक्याउँदै जुर्मुराउन खोजिरहेको बताउँदै उहाँले जसोतसो ऋण काढेर लगानी गरेका उद्यमीले राजश्वमा योगदान दिँदै रोजगारीको अवसर सिर्जना गरेपनि व्यापारमा आगजनी हुँदा र व्यवसायीका शयन कक्षसम्म लुटपाट हुँदा अहिले आफैले आफैलाई फर्केर हेर्न पनि बाध्य पारेको गुनासो गर्नुभयो।
आन्दोलनका नाममा निजी क्षेत्रका व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै अध्यक्ष ढकालले दोषीलाई कारबाही नभए दण्डहीनता मौलाउने चिन्ता व्यक्त गर्नुभयो। उहाँले विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गर्नुभयो।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिप्रति सरकार संवेदनशिल र गम्भिर रहेको भन्दै मुख्यसचिव एकनारायण अर्यालले निजि क्षेत्रको हरेक समस्यामा हिजोपनि साथमै रहेको सरकार आजपनि साथमै रहेकोले निर्धक्क भएर अगाडी बढ्न आग्रह गर्नुभयो।
यद्यपी निजि क्षेत्रको अपेक्षा पुरा गर्न सरकारले नसकेको स्वीकार गर्दै उहाँले पछिल्लो आन्दोलनमा भएको क्षति र नोक्सानबाट माथी उकास्न वर्तमान सरकार सुरुकै दिनदेखी प्रयासरत रहेको जिकिर गर्नुभयो।
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो।
नयाँ बिजनेस बनाएर अघि बढ्नसके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको भन्दै गभर्नर पौडेलले अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढनका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो।
यस्तै जेनजी आन्दोलनका क्रममा राज्यबिहिनताको मौका छोपेर केही उच्छृखंल तत्वले निजी क्षेत्रका व्यवसायमाथी गरेको आक्रमण सरकारलाई अस्विकार्य रहेको बताउँदै स्वयं प्रधानमन्त्री सुशीला कार्कीले पनि आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो।
उहाँले जेनजी आन्दोलनले मर्माहत भएको निजी क्षेत्रलाई पनि आन्दोलनका घाइते युवालाई जस्तै राहत सहयोगबाट आत्म विश्वास जगाउन सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्नुभयो।
जेनजी आन्दोलनका क्रममा निशामा पारिएको निजी क्षेत्रले आगजनी, तोडफोड र लुटपाटबाट ८८ अर्ब बढीको क्षति बेहोरेको छ। आन्दोलनमा सिजी ग्रुप, भाटभटेनी सुपरमार्केट, आइएमई ग्रुपजस्ता व्यापारिक घरानाबाट सञ्चालित व्यवसायहरुसँगै होटल हिल्टनजस्ता अन्तराष्ट्रिय लगानीहरु तार्गेटमा पर्दा, मुलुकले निजी क्षेत्रसँगै होटल तथा पर्यटन, रोजगारी, राजस्व, आन्तरिक तथा बाह्य लगानीजस्ता क्षेत्रबाट ठुलो आर्थीक क्षति भोग्न वाध्य भएको छ।
तथापी अहिलेसम्म आन्दोलनमा भएको दमन, तोडफोड, आगजनी,लुटपाटजस्ता क्रियाकलापमा संलग्नहरु कानुनी दायरामा आउन सकेका छैनन्। जसकारण निजी क्षेत्रको मनोबल अझै माथी उठ्न सकेको छैन।
तथापी खरानी टकटकाएर भएपनि माथी उठ्ने आत्मबल देखाएका व्यवसायीको मनोबल उकास्ने गरी सरकारले योजना ल्याउन जरुरी छ भने निजी क्षेत्रको संरक्षण र प्रबद्र्धनका योजनासहित आगामी दिनमा कुनैपनि प्रकारको आक्रमण नहुने सुनिश्चीतता दिलाउन आवश्यक छ। सँगै क्षति पुगेको अवस्थामा सार्वजनिक महत्वको क्षेत्र मानेर अघी बढाउने योजना प्रस्तुत गर्न जरुरी छ।