काठमाडौं। निर्वाचन आयोगले आगामी फागुनका लागी तय प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार पारेको छ। सरकारले निर्वाचनका लागी उचित वातावरण निर्माण गर्न नसकेकोले फागुन २१ मै निर्वाचन हुनेमा केही दलहरुले आशंका व्यक्त गरिरहेको समयमा आयोगले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजना तयार पारी सार्वजनिक गरेको हो।
आयोगले आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिँदै कार्ययोजना पनि सार्वजनिक गरेको हो।
बैठकमा सहभागी आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारीबारे जानकारी दिँदै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्ने र त्यसपछि मतदान केन्द्रमा पठाउने बताउनुभयो।
कार्ययोजना अनुसार राजनीतिक दल दर्ता मंसिर १ देखि १०सम्म, निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते, मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन–मंसिर १देखि पौष १५सम्म, समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते, मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पौष १५ गते र समानुपातिक निर्वाचनतर्फ बन्दसूची पेश पौष १८ र १९ गतेका लागी तोकिएको छ।
त्यस्तै प्रत्यक्षतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते, संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाई स्थापना तथा संचालन माघ २ गते देखि फागुन ३० सम्म, निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८सम्म १४ दिनमात्रै निर्धारण गरिएको छ भने मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पु¥याउने काम फागुन १२ भित्र सकिनेछ।
त्यस्तै, प्रचार–प्रसार निषेध अवधि फागुन १८ गते राति १२ः०० बजे देखि र मतदान २०८१ फागुन २१ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिने छ भने दुवै निर्वाचन प्रणालीको मतगणना प्रारम्भ २०८१ फागुन २१ गते साँझदेखि गर्ने गरी कार्यतालिका तय गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारि दिनुभयो।
आयोगले निर्वाचनको तयारी तिब्र पारेपनि राजनैतिक दलहरुले भने सरकारले वातावरण बनाउन नसकेको भन्दै तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै आएका छन्।
तथापी भण्डारीले भने अहिले अग्रिम र आकस्मिक निर्वाचन भएकोले संविधानलाई जीवित राख्नका लागि पनि निर्वाचनमा जानु अपरिहार्य रहेकोले निर्वाचनको मिति घोषणा भएकै दिनदेखी फागुन २१मै निर्वाचन गराउनेगरी आयोग आवश्यक तयारीमा जुटेकोले सबैपक्ष चुनावमा सहभागी हुनुको विकल्पै नरहेको जिकिर गर्नुभयो।
तर बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललेसमेत सरकारले निर्वाचनको उचित वातावरण निर्माण गर्न नसकेको भन्दै व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न गर्नेगरी आवश्यक कदम चाल्न सरकारसमक्ष आग्रह गर्नुभयो।
समितिको बैठकमा सरकारका तर्फबाट सहभागी कानुनमन्त्री अनिलकुमार सिन्हामार्फत अध्यक्ष दाहालले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
त्यस्तै निर्वाचनका सन्दर्भमा सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको जिकिर गर्दै कानूनमन्त्री सिन्हाले प्रधानमन्त्री सुशीला कार्कीले दलहरुसँग संवाद गर्न सुरुवातमा केही विलम्ब देखिएपनि ऐले बाहिर फैलिएको अफवाह मात्रै रहेको बताउनुभयो।
सुरुवातमा सरकारले जेनजी समूहसँगको छलफलमा धेरै समय खर्चनुपरेपनि अन्य दललाई अवमूल्यन नगरेको उल्लेख गर्दै उहाँले दलहरुलाई अवमुल्यन गर्दा निर्वाचनका लागी असहज हुने कुरामा सरकार प्रष्ट रहेको भन्दै तोकिएको समयमा निर्वाचन गराउन र त्यसको वातावरण निर्माण गर्न सरकार नितरन्तर लागिरहेको बताउनुभयो।
तोकिएको समयमा निर्वाचन गर्नका लागी आयोगले सबै पक्षसँग छलफल गरेको र त्यसका लागी कसैले पनि असहमती नजनाएको बताउँदै आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दलहरु पनि निर्वाचनमा जान तयार रहेको प्रतिवद्धता जनाइसकेको बताउनुभयो।
आयोगले सबैपक्षसँग छलफल गर्दा निर्वाचनका लागी वाताबरण निर्माण गर्ने विषय उठान भएको भन्दै उहाँले निर्वाचनको वाताबरण बनाउने दायीत्व सरकार र आयोगको मात्रै नभएर सबै दल र सरोकारवाला एवं सबै पक्षको भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी समुहले थालेको आनदोलनको उथलपुथलले ल्याएको विसम परिस्थितिको सामना गर्दै आगामी फागुन २१ मा निर्वाचन गरेर देशलाई निकास दिने म्याण्डेट लिएर बनेको अन्तरिम सरकारले निर्धारित समयमै निर्वाचन गर्ने गरी काम गरिरहेको छ।
तथापी निर्वाचनका लागी सरकारले उचित वाताबरण बनाउन नसकेको बाहना बनाउँदै केही दलहरु निर्वाचनबाट पन्छीने प्रयत्न भने कायमै राखेका छन्।
तसर्थ सरकार र आयोगले स्वच्छ, स्वतन्त्र,निस्पक्ष निर्वाचनको सुनिश्चीतता सहितको वातावरण बनाउँदै निर्वाचनबाट पन्छीन खोजेका दलहरुलाई सहि ट्याकमा ल्याउनतर्फ केन्द्रित हुन जरुरी छ। भने आम राजनैतिक दल, मतदाता र सरोकारवाला सबै पक्षले पनि निर्वाचनको वातावरण बनाउनुपर्ने आफ्नो दायीत्व पनि पुरा गर्न जरुरी छ।