काठमाडौं। जेनजी आन्दोलनले नराम्रोसँग थलिएको निजि क्षेत्र अझै पनि त्रासको वातावरणबाट मुक्त हुन सकेको छैन। जेनजी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटले खर्बौंको क्षति भोग्न वाध्य निजि क्षेत्रमाथी अहिले झन् धम्कि र त्रासहरु बढ्दै गएपछी सुरक्षाको अनुभुति गर्न नसक्दा त्रासमुक्त हुनै नसक्ने अवस्था सृजना भएको हो।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले भदौ २३ गते थालेको आन्दोलनमा भएको सरकारी दमनले ठुलो मानविय क्षति भएपछि २४ गते भड्किएको आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत हुँदा सरकारी तथा निजि क्षेत्रका विभिन्न निकायदेखी,व्यापारिक प्रतिष्ठान, उद्योग, व्यवसाय र संरचना खरानी बनेपछी ठुलो क्षति पुगेको छ।
खासगरी आन्दोलनका क्रममा चौधरी ग्रुप सीजी,भाटभटेनी सुपरमार्केट,आईएमई ग्रुपका केबलकार, होटल तथा पर्यटनदेखी व्यवसायीक प्रतिष्ठानहरु निसानामा पर्दा मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गर्दै आएको निजी क्षेत्रले पौने खर्बबढिको क्षति भोग्नु परेको थियो। जसले ठुलो मात्रामा रोजगारीसमेत प्रभावित बनायो।
आन्दोलनको बलमा तत्कालिन सरकार बहिगर्मनमा परेपछी बनेको वर्तमान अन्तरिम सरकारले समेत सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा अहिले तिनै निजि क्षेत्रका हाइड्रोपावरदेखी विभिन्न क्षेत्रमा जेनजीका नामबाट सेयर माग्दै हप्किदप्कि गर्ने र धम्काउने जस्ता गतिविधि गर्न थालेपछी निजि क्षेत्रको मनोबल झनै खस्किँदै गएको छ।
यसले नत पुराना लगानीकर्ताहरुले सुरक्षित महसुस गर्न सकेका छन् नत नयाँ लगानीकर्ताहरुले वातावरण पाउन सकेका छन्। यसअवस्थाले उत्पन्न पर्ख र हेरको परिस्थितिले मुलुकको अर्थतन्त्र नै संकटमा जाने देखिन्छ।
पछिल्लो समय भोटेकोसीजस्ता हाइड्रोपावरहरुमा विभिन्न समुहले जेनजीका नामबाट धम्कि दिन थालेपछी असुरक्षित महसुस गरेको बताउँदै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रमाथि बेवास्ता गर्दा आफूहरू गम्भीर समस्यामा परेको गुनासो गर्नुभयो।
अहिले पैसा तिरेर पनि सेयर दिनसक्ने अवस्थामा नरहेको समयमा विभिन्न जलविद्युत कम्पनीमा धम्की दिने काम सुरु हुँदा पटकपटक सरकारलाई गुहार्दा पनि बेवास्ता कायमै रहेपछी भोलि तोडफोड भएमा त्यसको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो।
यस्तै, नेपाल उद्योग वाणीज्य महासंघका सदस्य कृष्णप्रसाद दुलालले पनि जेनजी आन्दोलनपछी निजी क्षेत्रले सुरक्षाको अनुभुति लिन नसकेको र अहिले पर्ख र हेरको अवस्थामा रहेकोे बताउनुहुन्छ।
अहिले सरकारले निजि क्षेत्रले विश्वास गर्ने गरी सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको, नयाँ लगानीको वातावरण बनाउनेतर्फ पनि कदम चाल्न नसकेको र ठुलो क्षति बेहोरिसकेका पुराना व्यवसायीहरु पनि त्रासमै रहेकोले अझै केही समय निजि क्षेत्र लयमा आउन सक्ने नदेखिएकोले केही समय पर्ख र हेरकै अवस्था रहने बताउनुभयो।
तर यता आन्दोलनको एक महिना वितिसक्दा पनि तोडफोड, आगजनी, लुटपाटमा संलग्नलाई तथा विधिन्न नाममा धम्कि दिँदै व्यसायीमाथी त्रास फिजाउँदै हिड्नेलाई दायरामा ल्याएन र उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको सरकारले भने पटकपटक आन्दोलनबाट क्षतिग्रस्त निजि क्षेत्रको मनोबल उकास्ने गरी काम गर्ने जिकिर गर्दै आइरहेको छ।
सरकारका प्रवक्त तथा सुचना,सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कानुनी कारबाही गरी निजि क्षेत्रको मनोबल खस्न नदिने भएकोले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो।
मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी युवाहरुले थालेको आन्दोलनमा सरकारकै दमनले उत्पन्न विसम परिस्थितिले सिँगो देशलाई नै संकटको अवस्थामा ल्याएको छ।जसले मुलुकको आर्थिक क्षेत्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत योगदान गर्दै आएको निजी क्षेत्र नै बढी मारमा परेको छ। तथापी राज्यले सुरक्षाको प्रत्याभुति दिलाए मनोबल खस्किन नदिने निजि क्षेत्रको अठोट छ।
तरपनि सरकारले भने अहिलेसम्म न आन्दोलनमा तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सकेको छ न त जेनजीका नाममा अहिले विभिन्न क्षेत्रमा सेयर माग्दै र धम्क्याउँदै हिड्नेहरुलाई कारबाही गर्न सकेको छ। यसले निजि क्षेत्रको मनोबल खस्किने मात्र होइन देशकै अर्थतन्त्रमा गम्भिर धक्का लाग्ने प्रष्ट देखिन्छ।
तसर्थ सरकारले तत्काल निजि क्षेत्रलाई सुरक्षाको प्रत्याभुति दिलाउँदै नयाँ लगानीको वातावरण निर्माण गर्न र पुराना लगानीकर्ताको मनोबल खस्न नदिनेतर्फ ध्यान दिन जरुरी देखिन्छ।