काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुटै रुपमा पेस गरेका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा दुवैतर्फबाट सचिवालयमा पेस गरिएको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।
आफूविरूद्ध लागेको लाञ्छनामा प्रचण्डले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको बताइएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल–नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा हिजो बिहान छलफल गरेका थिए ।
उक्त छलफलले दुई अध्यक्षका अहिलेका अलगअलग प्रस्तावलाई साझा बनाउने गरी पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी गरेको बताइएको छ ।
यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन् ।
त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गनुभएको थियो ।
अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।