काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिनुभएको थियो । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिनुभयो ।
यस्तै प्रवक्ता महतले भदौ २३ र २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताउनु भएको छ । सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो यसका बारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको उहाँको भनाई छ ।