काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य गर्ने र समृद्ध नगर निर्माणमा साझेदारी गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको हो ।
हालै आयोजित विशेष समारोहमा दुई नगरबीच २१ बुँदे सहमति पत्रमा हस्ताक्षर भइ भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएको हो ।
सहमति पत्रमा रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ता र महानगरप्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्नुभएको थियो । रामग्रामसँग भगिनी सम्बन्ध स्थापना गर्न महानगर प्रमुख शाक्यसहितको टोली परासी आएको थियो ।
रामग्राम भगवान् गौतम बुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल प्राचीन रामग्राम स्तूप रहेको नगर हो भने काठमाडौँ महानगरपालिका सङ्घीय राजधानीका साथै ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक शहरका रुपमा परिचित छ ।
यसअघि विदेशी नगरसँग मात्र भगिनी सम्बन्ध र उपत्यकाका नगरबीच साझेदारी गर्दै आएको काठमाडौँ महानगरपालिकाले देशभित्रकै स्थानीय तहमध्ये पहिलोपटक रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको महानगर प्रमुख शाक्यले जानकारी दिनुभयो ।
दुई नगरबीचको भगिनी सम्बन्धले देशैभरिका स्थानीय तहमा नयाँ सन्देश प्रवाह भएको रामग्राम नगरपालिकाका प्रमुख गुप्ताले बताउनुभयो ।
“सम्बन्ध गाँस्न ठूलो सानो भन्ने हुँदैन, मुख्य कुरा असल अभ्यासको आदानप्रदान हो”, उहाँले भन्नुभयो ।
दुई नगरबीच समृद्ध नगर, दीगो शान्ति, सुशासन, संस्थागत सुदृढीकरण, गुणस्तरीय सेवा प्रवाह, दीगो स्थानीय स्वायत्त शासन तथा विकास आयोजनामा एकआपसमा सहकार्य र साझेदारी गर्ने समझदारी भएको छ । साथै शिक्षा, स्वास्थ्य र सरसफाइ, कृषि, पर्यटन, आर्थिक विकास, विपद् जोखिम न्यूनीकरण, भाषा,कला, संस्कृति संरक्षणलगायत विविध क्षेत्रमा आपसी सहकार्य, समन्वय र साझेदारी गरिने जनाइएको छ ।
यसैबीच रामग्राम नगरपालिका–१८ पण्डितपुरमा निर्माण गर्न लागिएको कोलिया शान्ति उद्यानमा काठमाडौैं महानगरपालिकाले पनि साझेदारी गर्ने भएको छ । कोलिय गणराज्यको राजधानी पण्डितपुरमा निर्माण हुने उद्यानका लागि महानगरपालिकाले रु एक करोड ५० लाख साझेदारी गर्ने गरी दुवै नगरका प्रमुखबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो ।
रामग्राममा महानगरको चिनोका रुपमा चालु आवमै शुरु गरी आगामी आवमा निर्माण सम्पन्न गर्ने गरी उक्त परियोजनामा साझेदारी गर्ने सम्झौता गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।