Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनले गुमनाम दलहरु सक्रिय बन्दै, पार्टी पुनर्गठनका लागी दवाब बढ्दो, निर्वाचनका लागी भने मतभेद कायमै (खासखबर)

जेनजी आन्दोलनले गुमनाम दलहरु सक्रिय बन्दै, पार्टी पुनर्गठनका लागी दवाब बढ्दो, निर्वाचनका लागी भने मतभेद कायमै (खासखबर)

  • मंगलवार, आश्विन ७ २०८२

  • 687
    SHARES

  • जेनजी आन्दोलनले गुमनाम दलहरु सक्रिय बन्दै, पार्टी पुनर्गठनका लागी दवाब बढ्दो, निर्वाचनका लागी भने मतभेद कायमै (खासखबर)

    काठमाडौं। जेनजी आन्दोलनले गुमनाम बनेका सबै राजनैतिक दलहरु बिस्तारै सक्रिय बन्न थालेका छन् । गत भदौ २३ र २४ गते जेनजी समुहले गरेको आन्दोलनले उत्पन्न विषम परिस्थीतिले सबै राजनैतिक दल तथा नेता कार्यकर्ताहरु प्राय गुमनाम बनेका थिए ।

    भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनमा उत्रिएको जेनजी समुहमाथी २३ गते सरकारी दमनले प्रदर्शनकारीको ज्यान गएपछी आक्रोशित आन्दोलनकारी भोलीपल्ट २४ गते तोडफोड र आगजनीमा उत्रिएपछी देशको अवस्था नै नियन्त्रण बाहिर पुगेपछी केपी ओली नेतृत्वको सरकार नै बहिर्गमनमा परेको थियो ।

    स्थीति नियन्त्रणबाहिर पुगेपछी प्रधानमन्त्रीबाट राजिनामा दिएका ओलीलाई र अन्य मन्त्रीसँगै केही शिर्ष नेताहरुलाई नेपाली सेनाले सुरक्षा दिएको थियो। जेनजी आन्दोलनले ल्याएको उथलपुथलले सरकार ढलेपछी राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीकै माग र सिफारिसअनुसार प्रतिनिधी सभा विघटन गरि पूर्वप्रधानन्याधिस सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

    यसरी कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागी निर्वाचन नै घोषणा गरेर काम कारबाही थालेपछी बिस्तारै सलबलाउन र सार्वजनिक हुन थालेका राजनैतिक दलहरु तथा नेता कार्यकर्ताहरु पार्टीका काम कारबाहीमा सक्रिय मात्रै बनेका देखिँदैनन् पार्टी पुर्नगठनका लागी र चुनावी तयारीका लागी आन्तरिक रुपमा दबाब पनि बढाउन थालेका छन् ।

    सिमित नेताहरु र नेतृत्वकर्ताका कारण वर्तमान परिस्थीति निर्माण भएको भन्दै सबै राजनैतिक दलहरुमा अहिले पार्टी पुर्गठन र नेतृत्व परिवर्तन गरी अन्तरिम सरकारको मयाण्डेटअनुसार हुन लागेको निर्वाचनका लागी तयारीमा जुट्न आवाज उठ्न थालेको छ । तर नेतृत्व तह भने निर्वाचन र नेतृत्व हस्तान्तरणमा तयार देखिँदैन ।

    जसले गर्दा सबै दलभित्र पार्टी नेतृत्वकै अकर्मन्यताले वर्तमान परिस्थिती आएको भन्दै पुनर्गठनका लागी विभिन्न विकल्प पनि अपनाउन थालेको देखिन्छ । तर अहिलेसम्म सेनाकै सुरक्षामा गुमनाम रहेर बिस्तारै सार्वजनिक हुँदै आएका शिर्ष दलका नेतृत्वकर्ताहरु भने अहिले पार्टी नेतृत्व सुम्पिने र पार्टी पुनर्गठन गर्ने समय नभएकोले आफ्नै नेतृत्वमा पार्टीलाई पुरानै अवस्थामा फर्काउने दाबी र अडान लिँदै आएका छन् ।

    जेनजी आन्दोलनको पहिलो दिन उत्पन्न परिस्थीतिमा वेवास्ता गरेर भोलिपल्ट मुलुकमा विध्वंश मच्चिएपछी राजिनामा दिएर सेनाको सुरक्षामा लुकेपछी आज मात्रै औपचारिक रुपमा सार्वजनिक भएका तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्षसमेत केपी ओलीमा समेत सोही अडान देखिन्छ।

    आज भक्तपुरको गुण्डुस्थित निवासबाट सार्वजनिक भएका ओलीले देश कठिन परिस्थितिमा पुराइएको भन्दै हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन नेता कार्यकर्तालाई निर्देशन नै दिनुभयो।

    अहिले नेपाल बदनाम भएको र नेपालीलाई विदेशीले भिसा र काम नदिने अवस्था आएको भन्दै युवाहरू निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्नेमा जोड दिँदै ओलीले अहिले देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार नजलाएको र अरु नै घुसपैठ गर्ने तत्त्वहरूले योजनाबद्ध रुपले जलाएको भन्दै यस्तो कुरा बुझ्न निर्देशन दिनुभयो ।

    यसअघी केही दिन पहिले मात्रै सार्वजनिक पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यतिबेला देश नै खरानी बनेको भन्दै अब धुलो र खरानी हेरेर बस्ने छुट नभएको भन्दै धुलो टकटकाएर पुर्ननिर्माण गर्नुपर्ने बताउनुभएको थियो।

    यसका लागी सबै अन्य बाहनाबाजी र आन्तरिक खिचातानीमा नलागी पुननिर्माण जुट्न आह्वान गर्दै प्रचण्डले देश र जनताप्रति आफ्नो निष्ठा र प्रतिवद्धता नडगमगाएको बताउनुभएको थियो ।

    यस्तै विगतदेखी नै पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस उठ्दै आएको नेपाली कांग्रेस भित्र पनि अहिले पार्टी पुर्नगठनका लागी दबाब बढ्दै गएको छ। जेनजी आन्दोलनका क्रममा आक्रमणमा परि घाइते भएर सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेकै बेलामा पार्टी पुनर्गठनका लागी कांग्रेसभित्र चलखेल र गतिविधी बढेका छन् ।

    आन्दोलनपछी हरेकदिनजसो माफि माग्दै र पार्टी पुनर्गठन गरी देशलाई निकास दिने प्रतिबद्धता जनाउँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यतिबेला पार्टी पुनगठनका लागी सक्रिय देखिन्छन्।

    महामन्त्री थापाले यसअघी नै अन्तरिम सरकारको म्याण्डेट अनुसार सबै दलले ६ हिनाभित्र हुने चुनाबलाई सफल पार्न र जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र क्षतिसँगै आन्दोलनको मागअनुसार देशमा भएका भ्रष्टाचारहरुको छानबिन गर्न सबै दलहरुले पार्टी पुनःगठन गरी सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको थियो।

    कांग्रेसभित्र विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान नै सुरु भएको छ। कांग्रेसमा रहेको विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था अनुसार नेताहरु गुरुराज घिमिरे, देवराज चालिसेसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन्।

    भने नेता राजेन्द्र बजगाँईले ’राष्ट्र निर्माण र लोकतान्त्रिक पार्टीको रूपान्तरण’ लाई एकसाथ अगाडि बढाउने उद्देश्यका साथ पार्टीको संरचनात्मक सुधारका लागि भन्दै १२ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको छ। अन्य दलहरु रास्वपा, राप्रपा, एकिकृत समाजवादी, जनमत, जसपा, लगाएतका दलहरुमा पनि नेतृत्वमाथी प्रश्न उठ्न थालेको छ भने पार्टी पुर्नगठनको आवाज बलियो बन्दै गएको देखिन्छ।


    मंगलवार, आश्विन ७ २०८२०८:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij