काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आँफु र आफ्नो अभियानले देशमा सधैं प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको दाबी गर्नुभएको छ ।
आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो, ’यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौँ ।’
प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेपनि जेनजी आन्दोलन भने हाइज्याक भएर अर्कै दिशामा गइदिएको बताउनुभयो ।
यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत जिकिर गर्दै उहाँले यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको दाबी गर्नुभयो । आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै प्रसाईँले बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको दाबी गर्नुभयो ।