काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आईपुग्नुभएको छ । उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । केही घण्टाका लागि काठमाडौं आउनुभएका उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ त्यसपछि उहाँ आजै स्वदेश फिर्ता हुनुहुने छ ।
भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उहाँ औपचारिक भेटवार्ताका लागि निस्कने बताईएको छ । सबैभन्दा पहिले उहाँले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उहाँ दिउँसो दुई बजे जंगीअड्डा पुग्नुहुुने छ ।
जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।
जंगीअड्डापछि उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुहुने छ । बालुवाटारपछि उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिलाई भेटेपछि उहाँ सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।