काठमाडौं। पछिल्लो केही महिना यता अहिले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिचको टकराब निरन्तर बढ्दै गएको छ ।
विगतमा अति निकट रहेर एकअर्काको सहयोगबाट आ आफ्नो पदीय र सत्ता स्वार्थ पूर्ती गरिसकेका यी दुईजना अहिले ३६को आँकडामा पुगेका छन्। त्यति मात्रै नभएर आगामी महाधीवेशनबाट एमालेको नेतृत्व आँफुले हत्याउने स्पष्ट रणनीति लिएर एकअर्कालाई असफल बनाउन धाराप्रवाह आक्रोशसमेत पोख्दै गएका छन्।
यसअघी एकअर्काको सहयोगले विद्यालाई पार्टी उपाध्यक्ष हुँदै दुईदुई कार्यकाल देशको सर्वोच्च पद राष्ट्रपति र ओलीलाई पनि पटकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको थियो । तर राष्ट्रपतिबाट अवकासपछी विद्यालाई पार्टी अध्यक्षको मोह बढेसँगै ओलीलाई गलपासो परेको छ।
विगतमा पार्टीभित्र आँफुसँग प्रतिस्पर्धा गर्ने र प्रश्न उठाउनेमाथी हिटलर नै बनेर एकलौटी राज गर्दै आएका ओलीलाई एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीको राजनीतिक छबिबाट उदाएर देशको नेतृत्वमै पुगीसकेकी र पार्टीभित्र पनि राम्रै समर्थन तथा पकड देखेकी विद्याले नै काउण्टर दिनेगरी मैदान झरेपछी यतिबेला निद हराम नै भएको देखिन्छ ।
आगामी महाधिवेशनपछी पनि आँफैले पार्टी नेतृत्व हत्याउने रणनीति बनाएका ओलीले गत असार १४ गते विद्याले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछी रोक्न अनेक तिकडम अपनाउँदै आएको देखिन्छ। यसबिचमा विद्यासँगको छलफल र वार्ताले पार नलागेपछी गत साउन ६ गते विद्यालाई रोक्न पार्टी सदस्यता नै नविकरण नगर्ने निर्णय पार्टी बैठकबाट गराएका थिए।
त्यसपछी थप आक्रोसित बनेकी विद्या यतिबेला काठमाडौंमा सम्पर्क कार्यालय खोलेरै आफ्ना पार्टी गतिविधी बढाउँदै लगेकी छिन् भने पार्टीको तल्लो तहसम्मै आफ्नो प्रभाव स्वरुप समानान्तर गतिबिधी पनि बढाउँदै छिन् । सँगै फेरी एकपटक पार्टी नेतृत्व हत्याउन पार्टीमा कायम ७० वर्षे उमेर हद र अध्यक्षको दुई कार्यकालको प्रावधान हटाउने तयारीमा रहेका ओलीलाई असफल पार्ने रणनीतिमा छिन् ।
जसले गर्दा ओलीले पनि हरेकजसो पार्टीका कार्यक्रम तथा भेटघाटमा एमालेमा विद्यालाई रोक्न जुनसुकै कदम पनि चाल्न पछि नपर्न निर्देशन नै दिँदै आएका छन् ।
उसो त यो क्रियाकलापमा विद्यालाई सक्रिय राजनीतिमा फर्किन भने सुरुमा ओलीकै ढाडस देखिन्छ। किनभने यतिबेला सरकारको नेतृत्वमा आउनुपूर्व नै ओलीले विद्यालाई राजनीतिमा आउन कुनै कुराले नछेक्ने बताएका थिए ।
दुईवर्ष अघि नै प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलासँगको अन्तर्वार्तामै विद्या भण्डारीबारे सोधेको प्रश्नमा ओलीले राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा भएको बताएका थिए जुन अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा छरपस्ट छ ।
त्यतिबेला राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने कुरा नहुने भन्दै भण्डारीको खुसी र इच्छाको कुरा रहेको ओलीले भनाई थियो । पूर्वराष्ट्रपति एमाले अध्यक्ष बन्न पाउँछ ? भन्ने प्रश्नमा ओलीले “राष्ट्रपतिलाई कसैले कांग्रेस, एमाले या अर्को पार्टीको अध्यक्ष बनाउँछ भने पनि पाउँछ । कुन पार्टी, कसको के गर्छ त्यो पनि पाउँछ । कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ ।”भन्ने बताएका थिए।
तर, यतिबेला ओलीलाई आफ्नो यहि बोली गलपासो बनेको देखिन्छ। जसकारण अहिले भने आफ्नो त्यो बोली नै फेरेका छन् । ओलीले यतिबेला नेता कार्यकर्तालाई विद्यालाई नउकास्न चेतावनी नै दिइसकेका छन् । दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्तिलाई अध्यक्षको उमेद्वार बनाउँदा गल्ती हुने भनाइ ओलीको छ ।
विद्याले चुनाव जित्नै नसक्ने र केन्द्रीय सदस्यमै हार्ने दाबी ओलीले गरेका छन् । विद्यालाई पार्टीको अध्यक्ष दिन नसकिने भन्दै पार्टी र आन्दोलनको हितका लागि पनि चुनाव हार्नैपर्ने ओलीको तर्क छ । सँगै भण्डारीको अवस्था भीम रावल जस्तो बन्ने संकेत पनि गरे ।
तर विद्याको भने पार्टी नेतृत्व जुनकुनै हालतमा पनि हत्याउने रणनीति देखिन्छ । भण्डारीले च्यासलले रोक्दैमा आफ्नो पार्टी सदस्यता र आफ्नो राजनीतिक गति नरोकिने बताएकी छिन्। आँफु एमालेकै कार्यकर्ता रहेको र रहने दाबी गर्दै भण्डारीले एमालेको सिद्धान्त अनुसार अगाडी बढ्ने अडान पनि देखाउँदै आएकी छिन् ।
तर यता, विज्ञ तथा जानकारहरु भने ओली विद्याको राजनीतिक खिचातानी असोभनिय रहेको तर्क गर्छन् । मदन भण्डारीको मृत्युपछी ओली र विद्याले अहिलेसम्म आ आफ्नो स्वार्थको रोटी सेकेर ओली पटकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेको तथा विद्या पार्टी उपाध्यक्ष र दुई दुईपटक राष्ट्रपति बनेको भएपनि अहिले स्वार्थ चुलिएपछी पोखिन थालेको राजनैतिक विश्लेषक शंकर तिवारीको तर्क छ।
समग्रमा पूर्वराष्ट्रपति भैसकेको व्यक्ति राजनीतिमा आउन सोभनिय नभएपनि एमालेमा भने विगतमा हिटलर शैलि अपनाउँदै आएका ओलीलाई अहिले विद्याले काउण्टर दिँदै विगतमा आफ्ना पति स्व. मदन भण्डारीले एमालेलाई स्थापीत गरेको भन्दै उत्तराधीकारीमा दाबी गरेपछी दुईजनाबिच टकराब सुरु भएको र यो केही समय अझै लम्बिने तिवारीको दाबी छ।
एक त पूर्वराष्ट्रपति बनिसकेको व्यक्ती राजनीतिमा आउनु नै असोभनिय देखिन्छ। अर्कातिर विगतमा स्वार्थ मिल्दासम्म एकअर्कालाई साथ दिएर संविधान नै कुल्चिन समेत पछि नपरेका यी दुई अहिले आमने सामने भएर एकअर्कामा आगो ओकल्नु झनै असोभनिय देखिएको छ।
यसमा आफ्नै सल्लाहमा विगतमा पार्टी सदस्यता नविकरण गराएका ओलीले अब भण्डारी आँफैलाई भारी पर्ने देखेपछी निषेधको राजनिित सुरु गरेपछी थप उत्कर्षमा पुगेको छ यो सहजै पार लाग्ने देखिँदैन । सँगै यसले सिंगो एमालेलाई मात्रै नभएर नेपालको कमयूनिष्ट राजनीतिमा पद र सत्ता स्वार्थका लागी नेतृत्वकर्ताले जुनकुनै हत्कण्डा अपनाउन पनि पछि पर्दैनन् भन्ने कुरा स्थापीत गर्ने देखिन्छ।