काठमाडौं। संयुक्त एम्बुलेन्स चालक संघ नेपालले आफ्ना माग पूरा गर्न आग्रह गर्दै प्रमुख दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघका अध्यक्ष नवराज लामिछानेको नेतृत्वमा दलका प्रमुख एवं जिम्मेवार अधिकारी र राष्ट्रिय सभा अध्यक्षलाई ध्यानाकर्षण गराएको हो ।
टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको हो । सो क्रममा उहाँहरुले संघको मागप्रति सकारात्मक हुँदै सरकारले सम्बोधन गर्नुपर्ने र आवश्यक ध्यानाकर्षण गराउने आश्वासन दिनु भएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार अन्य दलका शीर्षक नेता लगायतलाई पनि भेट गरेर यसबारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । लामिछानेले भन्नुभयो “हामी विश्वस्त छौं, सरकारले हाम्रा माग सम्बोधन गर्ने छ ।”
संघले गत साता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । यससँगै देशका अधिकांश जिल्ला प्रशासन कार्यालय मार्फत् स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।
संघले स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नविकरण गर्न दिनु पर्ने लगायतका माग गरेको छ ।
यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनु पर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने संघको माग छ ।
देशभर ६ हजार एम्बुलेन्स रहेका छन् । ती मध्ये ८० प्रतिशत ऐनका कारण नविकरण हुन नसकेको उहाँले बताउनुभयो ।