काठमाडौं । सुदूरपश्चिम अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले मुलुक समृद्ध हुनको लागि युवाहरुको मानसिकता परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । विदेशमा गएर पसिना बगाउने युवाहरुले स्वदेशमा नै त्यत्ति परिश्रम गर्ने हो भने मुलुक समृद्ध हुन कुनै सयम नलाग्ने उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘विदेशमा गएर राति ४ बजे उठेर गाडी धुने उही युवा नेपालमा आइसकेपछि आफूले आएको थाली धुन समेत धुँदैन ।’ अध्यक्ष साउदले भन्नुभयो, ‘आफ्नो देशमा काम गर्न लाज मान्छन्, कञ्जुस्याईँ गर्छन् र विदेशकै गुनगान गएर विदेशको पछि लाग्ने युवाहरुको प्रवृत्तिले हाम्रो देश झनै पछि परेको छ ।’
अध्यक्ष साउले केही स्थानीयमा भएका भ्रष्टाचार र अनियमितताका कारण देशभरका स्थानीय सरकार बदनाम भएको बताउनुभयो । साथै उहाँले चौरपाटी गाउँपालिकामा दशौं वर्ष सम्म हुन नसकेको परिवर्तन आफूहरु निर्वाचित भएर आएको तीन वर्षमै भएको दाबी गर्नुभयो ।