काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा आज बिहान सम्बोधन गर्दै नेता सिंहले संसद चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पु¥याउन नसकेको बताउनुभयो ।
नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।
ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोपसमेत लगाउनुभएको छ ।
यसैगरी, कांग्रेस नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दूरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
उहाँले कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने भएकाले यो वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताउनुभयो ।
कोइरालाले केन्द्रीय परिपत्रअनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रहसमेत गर्नुभएको छ ।
कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेकाले व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरु भएकाले महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाइ जीवन्तता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।