काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ सत्तामा हुँदा निदाउने र विपक्षमा हुँदा व्युँतिने समाजवादी मोर्चाको औचित्यमाथी गम्भिर प्रश्न उठेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको आधार तय गर्ने भन्दै २०८० साल असार ४गते घोषणा भएको मोर्चाको यतिबेला मोर्चाभित्रै बाट औचित्यमाथी नै गम्भिर प्रश्नसँगै विघटनकै प्रस्ताव आएको हो। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा गरी चार दलीय समाजवादी मोर्चा स्थापना भएको २५ महिना मात्रै भएको छ।
हरेक ६/६ महिनामा मोर्चाको नेतृत्व बदल्ने र आलोपालो अध्यक्ष बन्ने सहमतीमा गठीत मोर्चाबाट अहिले जसपा बाहिरिसकेको छ भने मोर्चाको अहिलेका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नै असन्तुष्ट बनेर विघटनको प्रस्ताव गरेपछि यसले गम्भिर प्रश्न उठायो ।
हालै विप्लवकै नेतृत्वमा नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा सम्पन्न बैठकमा मोर्चाको गठन र यसका गतिविधिबारे भएको समीक्षामा विप्लवले मोर्चालाई जनतासँग जोड्न नसकिएको र समाजवादी क्रान्तिको आधार तयार गर्न बनेको मोर्चा आँफै निष्क्रिय प्रायः भएकाले यसको औचित्य नभएको भन्दै विघटन गरेर जान प्रस्ताव गरेपछी यसले एकप्रकारको तरङ्ग नै उत्पन्न गरेको हो।
तर बाहिरी देखावटीका शक्तिका लागी भएपनि मोर्चा कायम राख्नुपर्ने मतमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र एकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने मोर्चा विघटन गर्ने विप्लबको प्रस्तावमा फरक मत राख्दै मोर्चालाई थप प्रभावकारी बनाउनुपर्ने मतमा समर्थन जनाउँदै पुनः मोर्चाको नेतृत्व विप्लबलाई नै सुम्पिएका छन्। प्रचण्डले मोर्चालाई सक्रिय बनाउनुपर्ने बोध सबैलाई भएको उल्लेख गर्दै मोर्चाको नेतृत्वमा विप्लव नै दोहोरिने प्रस्ताव राखेपछी विप्लब दोहोरिनु भयो।
त्यसपछी बैठकले सरकारविरुद्ध व्यापक आन्दोलनमा जाने निर्णय गरेको छ। मोर्चाको बैठकमा पहिलोपटक सहभागी एवं नेकपा एसमा हालै समाहित नेता बामदेव गौतमले मोर्चामार्फत सातै प्रदेशमा सरकारलाई खबरदारी गर्ने गरी आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको बताउनुभयो।
मोर्चाले अहिलेसम्म उदेश्यअनुसार काम गर्न नसकेको र आगामी दिनमा पनि गति सुदृढ नबनाउने हो तथा यहि पोजिसनमा राख्ने हो भने मोर्चाको औचित्य नरहेको मोर्चाकै प्रवक्ता समेत रहनुभएका नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बताउनुहुन्छ।
अहिलेको सरकारका कारण देश र जनताको जिवन कष्टकर बन्दै गैरहेको भन्दै यसको खबरदारीका लागी र मोर्चाको औचित्य पुष्टि हुने गरी आउँदो भदौदेखी आन्दोलनका कार्यक्रममा जाने तयारीमा रहेको प्रकाण्डको भनाई छ।
यस्तै मोर्चाको मुख्य दल एवं अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रभित्रैबाट पनि मोर्चाले उदेश्यअनुरुप काम गर्न नसकेको स्वीकारोक्ती छ। मोर्चाले आफ्नो उदेश्यअनुरुप काम गर्न नसक्दा औचत्यमाथी प्रश्न उठेको बताउँदै माओवादी नेता रामदिप आचार्यले यतिबेला उठेको प्रस्ताव मोर्चालाई थप सुदृढ बनाउनका लागी भएको जिकिर गर्नुहुन्छ।
मोर्चा माओवादी सरकारबाट बाहिर आएर अहिले गठन भएको नभै समाजवादी विचार बोकेका दलहरुले आवश्यकता महसुस गरेर गठन भएकोलेले मोर्चामा आवद्ध सबै दल जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुहुन्छ।
यस्तै स्वयं माओवादी अध्यक्ष प्रचण्ड पनि मोर्चाको आवश्यकता थप महसुस हुँदै गएकोले यसको औचीत्यमाथी प्रश्न उठाउने बेला नभएको भन्दै थप शसक्त बनाउनुपर्नेमा जोड दिनुहुन्छ।
हुनत प्रचण्डमाथी आँफु सरकारमा भएको बेला कुनै मतलब नगर्दा मोर्चा निदाउने गरेको र सरकारबाट बाहिरिएपछी आफ्नो स्वार्थका लागी मात्रै ब्यूँताउने गरेको आरोप लाग्दै आएको छ। यतिबेला पनि प्रचण्डले अब मोर्चा छिट्टै थप औचित्यपूर्ण र सक्रिय भएर अगाडी बढ्ने जिकिर गर्नुभएको छ।
समाजवादी कार्यदिशाको आधार तय गर्ने र राष्ट्रिय मुद्दालाई साझा रूपमा हल गर्ने भन्दै मोर्चा गठन भएको थियो। तर मोर्चाले निर्दिष्ट गरेका लक्ष्यबाटै विमुख भई माओवादी र नेकपा एसको नेतृत्व सत्ता केन्द्रित राजनीतिमा लागेपछि मोर्चाभित्रै असन्तुष्टी बढेको देखिन्छ।
सत्ता स्वार्थ र पदिय लोलुपताकै कारण मोर्चामा सुरुमा सहभागी जसपा र पछि सहभागी नेसपा पनि अहिले बाहिरिईसकेको छ। जसकारणले प्रचण्ड सत्ता स्वार्थमा भुल्दा मोर्चाको वास्ता र मतलब नै नगरेकोे र सत्ताबाट बाहिरिएपछी शक्ति प्रदर्शनका लागी मात्रै मोर्चा देखाएको भन्ने आरोप लाग्ने गरेको छ।
तसर्थ मोर्चाले आफ्नो औचित्य पुष्टि गर्न र आवश्यकता महसुस गराउन अहिले जनमानसमा बढेको असन्तुष्टि सम्बोधन गर्न सरकारलाई खबरदारी र सहजीकरण गर्न जरुरी छ । अन्यथा औचित्यबिहिन मोर्चाको विघटन नै उत्तम बाटो हुनसक्छ।