काठमाडौं । ‘चितवन जिल्लाबाट दैनिक ६ घन्टा लोडसेडिङ सुरू भयो ’ भनेर केहिदिनदेखि सामाजिक सञ्जालदेखि जताततै चर्चा भईरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रले निकालेको सूचनालाई लिएर लोडसेडिङ भन्दै देशभर नै यो विषयले तरङ्ग पैदा ग¥यो । दैनिक १८ घण्टासम्म लोडसेडिङ झेलेका जनतालाई यो सूचनाले नराम्ररी तर्साएको पनि छ । नेपाल विद्युत प्राधिकरणले चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गरेको भन्दै विभिन्न खवरहरु आए ।
भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको सूचना आएपछि लोडसेडिङको चर्चा सुरु भएको हो ।
जताततै लोडसेडिङको हल्ला फैलिएपछि ऊर्जामन्त्रीदेखि नेपाल विद्युत् प्राधिकरण प्रमुखसम्मले चितवनमा भएको विद्युत् आपूर्ति बन्दको सूचनालाई लिएर स्पष्टीकरण नै दिनु परेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आइतबार विज्ञप्ति नै जारी गरेर सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाईसकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले देशमा लोडसेडिङ नभएको स्पष्ट गर्दै त्यसबारे फैलिएको हल्ला नियोजित रूपमा केही समूहबाट सञ्चालित रहेको दाबी गर्नुहुन्छ । मन्त्री खड्काले यो हल्ला तथ्यविहीन भएको दावी गर्नु भएको हो ।
“लोडसेडिङ भएको छैन, अहिले त विजुली बढी भएको छ, बेचिएको छ,” मन्त्री खड्काले स्पष्ट पार्नु भयो, “कम हुँदा पो लोडसेडिङ हुने हो, तर अहिले त्यस्तो अवस्था छैन। त्यसैले भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।”मन्त्री खड्काको भनाई छ ।
मन्त्री खड्काका अनुसार निर्माण कार्य भइरहेका बेला वा हावा हुरी र बर्षाका कारण तार तथा पोलमा क्षति भएका बेला अस्थायी रुपमा मात्रै केही ठाउँमा कहिले कहिले बिजुली नआएको हुन सक्छ, जुन लोडसेडिङसँग सरोकार राख्दैन।
मन्त्री खड्काले लोडसेडिङ भएको भन्दै प्रचार गर्नेहरूबारे संकेत गर्दै भन्नुभएको छ, “एउटा समूह छ, लोडसेडिङ भएको भन्न पाउने भए खुसी हुने । त्यही समूहले गलत हल्ला फैलाएको हो।” उहाँले यस्ता नियोजित प्रयासहरूप्रति सरकार सचेत रहेको पनि बताउनुहुन्छ ।
विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत् आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको देखाएको छ ।
लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्लाका पछि नलाग्न प्राधिकरणले सबैमा आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबी असत्य भएको स्पष्ट पार्नुहुन्छ ।
सबस्टेशन अपग्रेड तथा पुरानो कन्डक्टर फेर्ने मर्मत कार्यका लागि अस्थायी रूपमा विद्युत् आपूर्ति रोकिने जानकारी निर्देशक शाक्यको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्य देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गर्नुहुन्छ ।विद्युत आपूर्तिमा समस्या आएको भन्दै शाक्य आज चितवन नै पुग्नुभयो ।
लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उहाँको तर्क छ । चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको दाबी छ ।
प्राधिकरणले नै लोडसेडिङको झल्को दिने गरी सूचना प्रकाशन गर्दा नै अहिले गलत सन्देश पुगेको बताईन्छ । तर प्राधिकरण भने सवस्टेशनका कार्यालयमा पुगेर दबाब दिएकै कारण यस्तो सूचना आएको दाबी गर्नुहुन्छ ।
चनौली वितरण केन्द्रअन्तर्गत पर्ने केही क्षेत्रमा भोलि मङ्गलबारबाट आपूर्ति सहज हुने दाबी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणमाथि पछिल्लो समय ‘झ्याप्प–झ्याप्प’ विद्युत् काट्ने गरेको आरोप लाग्ने गरेको छ । यसलाई कतिपयले लोडसेडिङको रुपमा लिएका छन् । र विरोध पनि गरिरहेका छन् ।