काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी)कोइरालाको ४३ औं स्मृति दिवस। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको योगदानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी कोइरालाको स्मृति दिवस मनाईएको छ।
वि.सं.१९७१ भदौ २४ गते जन्मिनुभएका कोइराला वि.सं.२०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो भने वि.सं.२०३९ साउन ६ गते निधन भएको थियो । उहाँले यसबिचमा राजनीतिमार्फत देश र जनतासँगै नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ।
जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी वि.सं.२०१५को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।
प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो।
त्यसपछी वि.सं.२०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालासहितका नेताहरु सिंहदरबारमा बन्दी बन्नुभएको थियो ।
त्यसपछी वि.सं.२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।
जेलमा रहँदा र बाहिर रहँदा पनि राजनीतिसँगै साहित्यमा कलम चलाउनुभएका कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिनुहुन्छ। उहाँले विभिन्न समय र कालखण्डमा लेख्नुभएका डेढ दर्जन बढी कृति प्रकाशित छन्।
भारतबाट वि.सं.२०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिनुभएका कोईरालाद्धारा लिखित दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो। उहाँले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।
तर पछिल्लो समय नेपालको राजनीतिमा विकृति देखा परेको र यसबाट काँग्रेस पनि अछुतो रहन नसक्दा विपिको विचार, सिद्धान्त र विपी मार्गबाट विचलन उन्मुख देखिएको गम्भिर टिप्पणी हुन थालेको छ। यद्यपी कांग्रेस नेताहरु भने वीपिको विचार र सिद्धान्तमा टाढा नभागेको र कहिल्यै नभाग्ने दाबी गरेका छन् ।
कांग्रेसमात्रै नभएर देशको राजनीतिमै बीपीको विचार आज पनि उत्तिकै सान्दर्भीक रहेको बताउँदै कांग्रेस नेता डां शेखर कोइरालाले विचारमा समयानुसार केही भिन्नताजस्तो देखिएपनि बीपीको विचार सिद्धान्त र मार्गमा कांग्रेस अडिग रहेको र रहने जिकिर गर्नुभयो ।
आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँगै प्रजातन्त्रमा जनतालाई केन्द्रविन्दुमा राखेर हेर्नुपर्छ भन्ने बीपीको सिद्धान्तअनुसार कांग्रेस अगाडी बढीरहेको जिकिर गर्नुभयो।
यस्तै कांग्रेस नेता तथा बीपी पुत्र डा. शशांक कोइरालाले पनि देशमा जनताको सेवाका निम्ति सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी मात्रै रहेको उहाँले जति काम अरू कसैले गर्न नसकेको दाबी गर्नुभयो। बीपीले बिताएको कठोर जिवनले नै देश र जनतालाई बाटो, विचार, मार्ग र सिद्धान्त दिएको जिकिर गर्नुभयो ।
उहाँले विकास निर्माणमा मामलामा पनि बीपी अग्र स्थानमा रहेको बताउँदै उहाँले पूर्वपश्चिम राजमार्गको निर्माण तत्कालीन राजा महेन्द्र शाहले गरेपनि कल्पना र विचार बीपीको नै रहेको दाबी गर्नुभयो।
यस्तै उहाँले अहिले कांग्रेस बीपीको विचारबाट विचलित हुँदै गएको भन्दै कांग्रेसले बीपीको बिचार परिपालना गर्दा देश र पार्टी दुबैलाई हित हुने भएकोले यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति पनि महामानव विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको दाबी गर्नुभयो। बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताउँदै र राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका लागी धेरै ठुलो कुरा भएको बीपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट सबैले शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।
बीपीको विचार र योगदान देश र जनताका लागी अतुलनीय रहेको र सोही योगदानसँगै विचार र सिद्धान्तले नै राष्ट्र समृद्ध हुने पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाको भनाई थियो ।
तर यता विज्ञ तथा जानकारहरु भने पछिल्लो समयका केही गतिविधी र क्रियाकलापले भोली दिनमा कांग्रेसलाई बीपीको विचार र सिद्धान्तको मार्गबाट विचलनतर्फ उन्मुख त गराउँदैन भन्ने डर र चिन्ता देखिन थालेको बताउँछन्।
राजनैतीक विश्लेषक गोविन्दमानसिंह कार्कीले बीपीको योगदान अतुलनीय रहेको र बीपीले नै २००८ सालबाटै कांग्रेसमा समाजवादको सिद्धान्त अबलम्बन गरेको बताउनुभयो।
समग्रमा अहिले कांग्रेस राजनैतीक विचारमा बीपीकै सिद्धान्तमा रहेपनि आर्थीक मामला र कार्यक्रममा भने बीपीको एजेण्डासँग नमिल्ने र विचलन देखिने बताउनुहुन्छ। कांग्रेसले अब गरिब र निमुखा वर्गलाई प्राथमिकतामा राखेर बीपीको सिद्धान्त परिपालना गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँको तर्क छ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपी कोइरालाको योगदान अतुलनीय छ। मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व लिएपछी पनि विभिन्न समयमा जेलनेल तथा कठोर सजाय भोग्दै आउनु भएका कोइराला देश र जनताको हितभन्दा बाहिर कहिल्यै रहनुभएन ।
कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासनमा बस्दैगर्दा भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दा बाबजुत २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किनु भएको थियो, जुन मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ।