काठमाडौं । एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको जनाइएको छ ।
मन्त्रालयले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेको, दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको, दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको स्वास्थ्यमन्त्री पौडेलले दाबी गर्नुभएको छ । स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू गरेको बताउनुभयो ।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुककै जेठो र ठूलो वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा ७२ शय्या थप्न लागिएको बताउनु भएको छ ।