Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजा ल्याउन हिँडेको राप्रपा आँफै फुटको संघारमा, धवल र लोहनीको साथ लिएर आयोगमा सुवेदीको उजुरी, लिङ्देन स्वच्छाचारी बनेको आरोप (खासखबर)

राजा ल्याउन हिँडेको राप्रपा आँफै फुटको संघारमा, धवल र लोहनीको साथ लिएर आयोगमा सुवेदीको उजुरी, लिङ्देन स्वच्छाचारी बनेको आरोप (खासखबर)

  • आइतवार, आषाढ २९ २०८२

  • 541
    SHARES

  • राजा ल्याउन हिँडेको राप्रपा आँफै फुटको संघारमा, धवल र लोहनीको साथ लिएर आयोगमा सुवेदीको उजुरी, लिङ्देन स्वच्छाचारी बनेको आरोप (खासखबर)
    काठमाडौं। राजा ल्याउन हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अहिले आँफै फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र एकलौटी गरेको भन्दै आज दर्जनौं नेताहरु निर्वाचन आयोग पुगेपछी राप्रपाभित्रको आन्तरीक विवाद र असन्तुष्टि छताछुल्ल भएर बाहिर आएको हो । 
     
    अध्यक्ष लिङ्देनले केहीदिन अघी अनुशासन समिति अध्यक्षबाट राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजकसमेत रहनुभएका वरिष्ठ नेता नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गर्नुभएको थियो भने पार्टी प्रवक्ताबाट सगुन लावतीलाई बर्खास्त गर्नुभएको थियो। 
     
    सोही कार्य स्वेच्छाचारी र एकलौटी निर्णय भएको भन्दै सँस्थापन इतर समुहका नेताहरु आज निर्वाचन आयोगको ढोका ढकढकाउन पुगेका हुन् । खासगरी राप्रपामा सँस्थापन इतर खेमा महामन्त्री धवलशमसेर राणाको नेतृत्वमा छ। 
     
    आज महामन्त्री जबरा र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँगै महामन्त्री कुन्ती शाही, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा लावतीलगायतका दर्जनौँ नेताहरूको समर्थनमा सुवेदीले लिङदेनले स्वेच्छारी रुपमा एकलौटी गरेर पार्टीमा कारबाहीको डण्डा चलाएको भन्दै आयोगमा उजुरीलिएर पुग्नुभएको थियो। 
     
    उसो त यसअघी राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै सुवेदीले भने एक पत्रकार सम्मेलनमै राप्रपाको साधारण सदस्यता समेत त्यागेको घोषणा गरिसक्नुभएको थियो तर राप्रपामा लिखित राजीनामा भने बुझाउनुभएको थिएन। 
     
    तर पछिल्लो समय सोही आन्दोलन पनि कमजोर बनेको छ भने राप्रपाकै नेताहरुको आन्तरीक कलहले आन्दोलन नै तुहिएको टिप्पणीसमेत हुन थालेको छ। र सुवेदी राप्रपामै रहने इच्छा देखाउनु भएको छ।
     
    तथापी अध्यक्ष लिङ्देनले भने सुवेदीको उक्त अभिव्यक्तिलाई नै देखाउँदै यतिबेला स्वइच्छाले पार्टी परित्याग गरेपछी अनुशासन समितिको अध्यक्ष पद खाली रहेको र कार्कीलाई जिम्मेवारी तोकेको तर्क गर्नुहुन्छ। तर, सुवेदीले भने आफू राप्रपाबाट अलग नभएको र आफूलाई विधानविपरीत अध्यक्ष लिङ्देनले अनुशासन आयोग अध्यक्षबाट हटाएको दाबी गर्नुभएको छ । 
     
    सोही दाबीसहित  आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग गर्दै आज इतरका गुटका नेताहरूलाई दायाँबायाँ राखेर आयोगमा लिखित उजुरी पेस गर्नुभएको हो। उजुरीमा सुवेदिले आँफुमाथी अन्याय गर्दै अध्यक्ष लिङ्देनले स्वेच्छाचारीता प्रदर्शन गरेको आरोप लगाउनुभयो। 
     
    प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि निर्णय लिनु अगाडि आँफुलाई सोध्नुपर्नेमा नसोधीएको र चिठि पनि नदिइएको भन्दै उहाँले आँफुलाई कारबाही भएको जानकारी मिडियाबाट थाहा पाएकोले आँफु अन्यायमा परेको र त्यसको खिलाफमा आवाज उठाएको जिकिर गर्नुभएको छ। 
     
    अध्यक्षको स्वेच्छाचारी कदमविरुद्ध आवाज उठाएको जिकिर गर्दै उहाँले पार्टी विभाजन नहुने तथा राजावादी आन्दोलन पनि अब झनै चर्किएर जाने र निचोडमा पुग्ने दाबी गर्नुभयो। 
     
    सुवेदीसँगै आयोगमा पुग्नुभएका महामन्त्री राणाले पनि अध्यक्ष लिङ्देनले अति गरेपछि बाध्य भएर आयोगको ढोका ढकढक्याउन बाध्य भएको बताउनुभएको छ। 
     
    आँफुले पटकपटक सहमतिमा जाऔँ भनेर भन्दा पनि त्यस्तो हुन नसकेको बताउँदै उहाँले लामो समय पार्टीमा योगदान गरेकालाई नै पार्टीबाट निकाल्ने, उहाँविरुद्ध कोही बोल्यो भने त्यसलाई पदबाटै हटाइदिने र अहिले हुँदाहुँदा अनुशासन आयोगको अध्यक्षलाई नै हटाएर अर्को मान्छे राखेको आरोप लगाउनुभयो । 
     
    पार्टी नफुट्ने दाबी गर्दै लिङ्देनले राजावादी आन्दोलन पनि नतुहिएको र अब झन् शसक्त भएर जाने भन्दै उहाँले आँफैले काँधमा बोकेर ल्याएका लिङ्देनले आँफैमाथी पनि पटकपटक कारबाही गरेकोेले अब हैकमबाद नस्वीकार्ने र पार्टी पनि नफुट्ने चेतावनी दिनुभयो।
     
    तर यता, अध्यक्ष लिङदेनले भने पार्टीमा आफ्नो कुनै गुट नभएको दाबी गर्नुभएको छ। पार्टीभित्र आफ्नो गुट र विपक्षी कोही नरहेको जिकिर गर्दै उहाँले पार्टीलाई मुठ्ठीमा राख्न खोज्ने र नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्नेहरुसँग भने आफ्नो फरक मत रहेको बताउनुभयो। 
     
    पार्टी ठुलो बनाउन अन्य पार्टीबाट मान्छे ल्याउनुपर्ने र जिम्मेवारी पनि दिनुपर्नेमा महाधीवेशन नै नआउँदै विभिन्न भेला गर्दै हिडेको भन्दै उहाँले असन्तुष्ट पोख्नुभयो । 
     
    लिङ्देनको आक्रोश पार्टीका महामन्त्री एवं आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी रहनु भएका राणालक्षित देखिन्छ। राणाले अहिल्यैबाट महाधिवेशनलक्षित गतिविधिहरू गर्दै अध्यक्षलाई अप्ठेरोमा पार्न खोजेको संस्थापन पक्षको बुझाइ छ। भने विगतमा पनि राप्रपालाई अप्ठेरो पारेर समानान्तर गतिविधि गर्दै अध्यक्षको समेत बदनाम गरेका सुवेदीले आँफै पार्टी छाडेको स्वघोषणा गरेकाले अब पार्टीमा स्पेस दिन नहुने निष्कर्श निकालेको छ।
     
    भने अध्यक्ष लिङदेनले इतर पक्ष कमजोर बनाउन जिम्मेवारीमै रहेका नेता कार्यकर्तामाथी पनि कारबाहीको डण्डा चलाएर एकलौटी गर्न थालेको असन्तुष्ट समुहको आरोप छ। तर आज सुवेदीले आयोगमै उजुरी दिएपछी आन्तरीक द्वन्द भने उत्कर्षमा पुग्ने देखिन्छ। 
     
    निर्वाचन आयोगले पनि सुवेदीले उजुरी दिएको पुष्टि गर्दै अब उजुरीमाथी अध्ययन गर्ने र आवश्यक प्रक्रिया थालिने बताएको छ। आयोगका प्रवक्ता निता पोखरेल अर्यालले सुवेदीले दिएको निवेदनमाथी अब अध्ययन गरी प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो। 
     
    राजसँस्था र हिन्दुराज्य स्थापनाको एजेण्डा लिएर हिँडेको राप्रपा पटकपटक टुट र फुटबाट गुज्रिदा शुन्यप्रायमा झरेको थियो। पछिल्लो महाधीवेशनमा लिङ्देनसँग अध्यक्षमा हारेका कमल थापासमुह पार्टीबाट बाहिरिएसँगै बाँकी एकढिक्का बनेपछी राप्रपा मुलुकको पाँचौ ठुलो दल बन्न पुगेको थियो। तरपनि एजेण्डाविपरित नै गएर विभिन्न समयमा देखिएका पदिय लोलुपता, सत्तास्वार्थ र गुठगत प्रवृत्तिले लामो समय पार्टीको यो संरचना जाने छाँट देखिँदैन। 
     
    भने पछिल्लो समय हौसिएको राजावादी माहौल छोपेर गठित राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व पनि सुवेदीलाई दिनासाथ राप्रपामै आन्तरीक असन्तुष्टि चुलिँदा अहिले पुनः आन्दोलन नै तुहिएको छ जसले राजावादी समुह र राप्रपालाई कमजोर साबित गरिदिएको छ।
     
    तसर्थ राप्रपा अब फेरी टुटफुटमा परिणत हुने र पुनः आन्तरीक द्वन्दमा फस्ने हो भने  न आफ्ना एजेन्ण्डा स्थापित गर्न सक्छ न मुलुकमा प्रभावशाली दल कायम रहन सक्छ। त्यसकारण राप्रपा यसतर्फ सचेत र सतर्क रहन जरुरी छ। 

     


    आइतवार, आषाढ २९ २०८२०८:३९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij