काठमाडौं। पछिल्लो केहीदिन यता प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा भिजिट भिसाको दुरुपयोग गरिएको भन्ने विषयले चर्चा पाईरहेको छ। यो विषयमा सामाजिक सञ्जालदेखी सदनसम्मै प्राथमिकताका साथ विवादको रूपमा उठिरहेको छ।
विगत लामो समयदेखी चर्चामा आएको भिजिट भिसा प्रकरण र यसमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछी आन्दोलीत बनेका रास्वपा र राप्रपाले विरोध कायमै राखिरहेको समयमा यतिबेला फेरी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हालै सम्पन्न स्पेन भ्रमणका क्रममा भिजिट भिसामार्फत सयौं व्यक्तिहरु गएको र केही फर्किए पनि केही उतै बसेको भन्ने विषय चर्चामा आएपछी यो विषय थप विवादित बनेको हो।
यस विषयमा हिजो संसद बैठकमा रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा कार्यक्रममा सहभागी हुने बहानामा भिजिट भिसामा गएका व्यक्तिहरू नफर्किएको आरोप लगाएपछी केहीबेर नोकझोक तथा हंगामाको अवस्था आएको थियो। सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेनमा हुने कार्यक्रममा गएकाहरु नफर्किएको समाचारहरू आएको र यो विषय अत्यन्तै महत्वपूर्ण विषय रहेको बताउनु भएको थियो।
त्यसलगत्तै सांसद गौतमको भनाईप्रति आपक्ति जनाउँदै एमाले सांसदहरुले प्रधानमन्त्री माथी निराधार आरोप लगाएको भन्दै आपक्ति जनाउँदै खेद व्यक्त गरेका थिए। प्रमुख सचेतक महेश वर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमले दिएको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाटै हटाउन माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीको साथमा गएर नफर्किनेको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिनुभयो।
सोही विषयले आज पनि सदनमा पुनः हँगामा मच्चायो। आजको बैठकमा पनि पुनः रास्वपा सांसद गौतमले हिजो आँफुले बोलेको विषयलाई तोडमोड गरेर अनावश्यक बबण्डर मच्चाएको आरोप लगाउँदै आँफुले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर नभनेको जिकिर गर्नुभयो।
हिजोको बोली आज केही परिवर्तन गरेकी सांसद गौतमले उल्टै एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न चुनौती दिँदै आक्रोशीत रुपमा व्यक्त गर्नुभयो। सँगै एमाले सांसदहरुले बुझाईमा समस्या भएकोले आफ्नो भनाई संसदको रेकर्डबाट हटाउन माग गरेको आरोप लगाउनुभयो ।
आँफुले बोलेको कुराको पूर्ण जिम्मेवारी लिने बताउँदै गौतमले आज पुनः हिजोको बोली दोहोराउनुभयो। ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो। तर, यो पनि सत्य हो प्रधानमन्त्री गएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’ सांसद गौतमको भनाई थियो।
त्यसलगत्तै आज पनि एमाले सचेतक सुनिता बरालले सांसद गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको जवाफ फर्काउनु भयो। गौतमलाई तथ्यको आधारमा कुरा गर्न चुनौति दिँदै सचेतक बरालले भाषाको ज्ञान र परिभाषा सिकाउन प¥यो भने आँफुहरु तयार रहेकोले हेक्का पु¥याएर बोल्न चेतावनी दिनुभयो। विदेश जाँदा देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित नभै राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुने भएकोले ज्ञान राखेर बोल्न चुनौति दिनुभयो।
भिजिट भिसा प्रकरणमा आँफुलाई जोडेर निरन्तर सदनमा अवरोध गर्दै आएको रास्वपाले अहिले प्रधानमन्त्रीको स्पेन भ्रमणमा पनि प्रश्न उठाएपछी गृहमन्त्री रमेश लेखकले रास्वपा सांसदले अनावश्यक तबरले अड्कलबाजी गरेर विभिन्न आरोप लगाएको भन्दै प्रधानमन्त्रीसँग भ्रमणमा स्पेन को गए?फर्किए? को उतै वसे?भन्ने कुराको जानकारी स्पष्ट रुपमा दिन आग्रह गर्नुभयो।
स्मरण गरौं,गृहमन्त्री लेखक त्यही व्यक्ति हुनुहुन्छ,जो विमानस्थलस्थीत अध्यागमन कार्यालयले गृहमन्त्रालयकै सेटिङमा भिजिट भिसामार्फत विदेश जानेहरुबाट लाखौं असुलि गरेको विषय बाहिरिएपछी अख्तियारले थालेको अनुसन्धान प्रभावित हुने डरले राजिनामा माग्दै विपक्षी रास्वपा र राप्रपाले निरन्तर सदनमा अवरोध गर्दै आएका छन्।
संसदमा जिम्मेवार ढंगले कुरा उठाउन र अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गदै उहाँले अख्तियारले अनुसन्धान गरिरहेको र सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको विषयमा अनावश्यक नबोल्न चेतावनी दिनुभयो।
यस्तै उहाँले रास्वपाकै सभापति पूर्वगृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको र उतैको नागरिकता लिएको भन्ने सुनेको भन्दै सत्य के हो?जानकारी दिन चुनौति दिनुभयो। भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने उहाँको टिप्पणी छ।
महत्वपूर्ण ऐन कानुन निर्माण गर्ने थलो संसदमा अन्य विभिन्न विषयमा आरोप प्रत्यारोप, टिका टिप्पणी,आलोचना,विवाद तथा प्रतिशोधका विषयमा केन्द्रित देखिन्छ, जुन असोभनिय मात्रै होइन असान्दर्भीक समेत हो। अर्कातिर बहुचर्चीत भिजिट भिसा प्रकरणमाथी अनुसन्धान चलिरहेकै समयमा सोही प्रकृतिमा प्रधानमन्त्रीको स्पेन भ्रमणमाथी प्रश्न उठेको छ, यो पनि अनुसन्धानको पाटो बन्न सक्छ।
त्यसका लागी विपक्षीले यदी आँफुसँग केही तथ्य प्रमाण भए उपलब्ध गराएर छानबिनको दायरामा ल्याउने प्रक्रिया थालनी गर्न जरुरी छ। सदनमा हुने यसप्रकारका आरोप प्रत्यारोपबाट नत समस्याले निकास पाउँछन्, नत मुलुकले सुशासन र समृद्धि । तसर्थ यसतर्फ सदनमा प्रतिनिधित्व गर्ने सबै दल जिम्मेवार र सजग बन्न जरुरी छ।।