Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणः उपलब्धी न्युन भएपनि महत्वपूर्ण बनेको दाबी, आलोचना भने कायमै (खासखबर)

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणः उपलब्धी न्युन भएपनि महत्वपूर्ण बनेको दाबी, आलोचना भने कायमै (खासखबर)

  • शनिवार, आषाढ २१ २०८२

  • 437
    SHARES

  • प्रधानमन्त्री ओलीको स्पेन भ्रमणः उपलब्धी न्युन भएपनि महत्वपूर्ण बनेको दाबी, आलोचना भने कायमै (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६ दिने स्पेन भ्रमण सकेर सकेर हिजो शुक्रबार स्वदेश फर्किनु भएको छ। स्पेनको सेभियामा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन गत असार १४गते स्पेन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली हिजो साँझ स्वदेश आइपुग्नुभएको हो।

    यही असार १६ देखि १९ गतेसम्म आयोजीत उक्त ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ त्यसतर्फ जानुभएको थियो ।

    उक्त सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो भने सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु देशका विकासका चुनौतीबारे आफ्ना धारणा स्पष्ट र दरिलो रुपमा राखेको छ। सम्मेलनकै क्रममा स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ।

    प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्नुभएको थियो, भने अन्य विभिन्न देशका सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग पनि भेटवार्ता गर्नुभएको थियो।

    प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गरेको बताउनुभयो।

    उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीको प्रस्तुति तथा सम्मेलनका क्रममा भएका विभिन्न भेटवार्ता र साइडलाइन वार्ता निकै प्रभावकारी र उपलब्धीमुलक रहेकोले प्रधानमन्त्री ओलीको ६ दिने स्पेन भ्रमण सफल र फलदायी भएको सचिव राईले बताउनुभयो ।

    यस्तै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पनि प्रधानमन्त्रीको स्पेन भ्रमण विशेष उपलब्धीमुलक र सफल रहेको दाबी गरेको छ। एमाले नेता डा. सुर्य पाठकले प्रधानमन्त्री ओलीले जुन दृढताका साथ नेपाल र नेपालजस्तै विकासोन्मुख देशहरुका मुद्दा प्रस्तुत गर्नुभयो त्यसले अन्तराष्ट्रिय स्तरमै नेपालको छबी र प्रतिष्ठा थप वृद्धि गरेको जिकिर गर्नुभयो ।

    अन्तराष्ट्रिय वित्त सम्मेलनमा प्रधानमन्त्रीले नेपालजस्ता अर्थव्यवस्था कमजोर भएका देशहरुकै समस्या मुखरित गरेकोले भ्रमण अत्यन्तै सफल र उपलब्धीमुलक बनेको उहाँले जिकिर गर्नुभयो।

    तर यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री ओलीको स्पेन भ्रमण उपलब्धीबिहिन बनेको टिप्पणी गरेको छ। भ्रमण यदि उपलब्धीमुलक बनेको भए प्रधानमन्त्री ओली एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनबाट तर्केर नहिँड्ने टिप्पणी गर्दै माओवादी नेता रामदिप आचार्यले प्रधानमन्त्री ओलीले कुनैपनि द्विपक्षीय वा बहुपक्षिय उपलब्धी हासिल गर्न नसकेको दाबी गर्नुभयो।

    यद्यपी विज्ञहरुले भने प्रधानमन्त्री ओलीको स्पेन भ्रमणलाई सामान्यरुपमै नै लिनुपर्ने बताउछन्। यो भ्रमण वित्तसम्बन्धी सम्मेलनमा सहभागीताका लागी भएकोले यसबाट तत्कालै देखिने ठुला उपलब्धी कम हुने र आजको भोली नै यसको मापन नहुने भएकोले भर्खरै टिका टिप्पणी गर्न आवश्यक नरहेको राजनैतिक विष्लेशक तथा कुटनितिज्ञ डा.गंगाधर अधिकारीको तर्क छ।

    वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता कार्यान्वयनका लागि ठोस कदम चाल्न र वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न प्रधानमन्त्री ओलीले विश्व समुदायलाई आह्वान गरेकोले यसले आगामी दिनमा नेपालको वित्त तथा आर्थिक विकासका लागी पनि महत्पूर्ण भुमिका निर्वाह गर्नसक्ने भएकोले भ्रमणलाई विषेश उपलब्धीमुलक नै मान्नुपर्नेमा अधिकारीको जोड छ।

    नेपालका तर्फबाट समय समयमा हुने यसप्रकारका भ्रमणहरुप्रति विषेश चासो रहने गरेको छ। सोहीअनुसार यसपटक पनि स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालका तर्फबाट प्रधानमन्त्रीको सहभागीतामा पनि चासो बढ्नु स्वभाविक हो।

    यसपटकको सम्मेलनमा विशेष गरी प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वानसमेत गर्नुभयो। जुन कदम स्वागतयोग्य र प्रशंसायोग्य मान्न सकिन्छ।


    शनिवार, आषाढ २१ २०८२०८:१४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij