काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको यतिबेला एमालेको सक्रिय राजनीतिमा फर्किने तयारी छ। जसकारण पछिल्लो समय बढेको भण्डारीको सक्रियता र केही अभिव्यक्तिले एमालेको नेतृत्व तहमै तरङ्ग ल्याईदिएको छ। एमालेकै पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले यसअघी मुलुकको पहिलो महिला राष्ट्रपति बनेर दुई कार्यकाल बिताइसक्नुभएको छ।
एमालेकै तत्कालिन महासचिव स्व. मदन भण्डारीकी पत्नि विद्याले राष्ट्र प्रमुखबाट बिदा लिएलगत्तै सक्रिय राजनीतिमा फर्किने संकेत दिनुभएको थियो। जुन संकेतलाई त्यतिबेलै राष्ट्रप्रमुख नै बनिसकेको व्यक्ति फेरी पार्टी राजनीतिमा किन आकर्षीत? भनेर व्यापक टिप्पणीसमेत भएको थियो।
एमालेको आगामी ११ औं महाधीवेशनमा पार्टी नेतृत्व नै हत्याउने रणनीतिका साथ अहिलैदेखी भण्डारीले सक्रियता बढाउन थालेपछी पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखी समग्र नेतृत्व पंक्ति नै त्रसित देखिन्छ। हालै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको जारी महाधीवेशनमा अध्यक्ष ओलीको बोली र विराटनगरमा भण्डारीले दिएको अभिव्यक्तिले यो विषय उत्कर्षमा मात्रै पुराएन तरङ्ग नै ल्याएको छ।
विगतमा राष्ट्र प्रमुख नै रहेको बेलासमेत ओलीको मुठ्ठिमै रहेको आरोप नै लाग्ने गरी साथ दिएकी भण्डारीलक्षीत अहिले ओलीको बोली र भण्डारीको जवाफपछी एमालेभित्र देखिएको तरङ्गसँगै तर्क वितर्क, तथा उत्साह र आक्रोशले एमाले अब एउटै अनुहारको भरमा अगाडि बढ्न सक्ने अवस्थामा छैन भन्ने कुराको प्रष्ट संकेत गरेको छ।
पार्टीभित्र नेतृत्व तहमा पुगेपछी अहिलेसम्म एकछत्र बर्चस्व जमाउँदै आएका ओली आँफुमाथी र पार्टी सञ्चालनमा आफ्नो कार्यशैलीमाथी प्रश्न उठाउनेलाई पार्टीभित्रै निचोर्ने र भुमिकाबिहिन बनाउँदै भित्तामा पुराउने रणनीति लिदैं अन्तिममा पार्टीबाटै निस्काशन गर्ने प्रवृति अँगालेर पार्टी नै मुट्ठिमा राख्नुभएका ओली यतिबेला विगतमा भरपुर सहयोग गरेकी भण्डारीले आफ्नै काउन्टरमा सक्रियता बढाएपछी शसंकित बन्न पुगेको देखिन्छ।
अर्कातिर फेरी विगत हेर्दा राजनीतिमा एकअर्कालाई स्थापित गराउन ओली र भण्डारी दुबैले महत्वपूर्ण भूमिका नखेलेका भने होइनन्। भण्डारीकै सहयोगले ओलीलाई चारपटकसम्म मुलुकको प्रधानमन्त्री र दुइपटक एमालेको अध्यक्ष बन्ने सौभाग्य मिल्यो भने भण्डारीलाई पनि दुई कार्यकालसम्म मुलुकको राष्ट्राध्यक्ष अर्थात राष्ट्रपति बन्ने अवसर मिल्यो ।
ओली अहिले पनि यी दुबै पदमा बहाल रहँदा भण्डारी भने पदबिहिन हुनुहुन्छ। जसकारण अब पार्टी नेतृत्वमा भण्डारीको चाहना देखिन्छ। तर भण्डारीले अहिलेसम्म खुलेरै अध्यक्षको दाबी भने प्रस्तुत गर्नुभएको छैन, यद्यपी पछिल्लो समयको कार्यकर्ता भेटघाटदेखी देश विदेशको दौडाहाबाट भण्डारीले त्यो चाहना स्पष्ट पारिसकेको छ।
अर्कातिर उता केहि समय अघी मात्रै पार्टीमा अझै २० वर्ष आफैँले नेतृत्व गर्ने उद्योष गरेका ओली अझै पनि त्यति सहय रुपमा पार्टी नेतृत्व छाड्ने मनस्थीतिमा देखिँदैनन्।
एमालेमा एकल वर्चस्व जमाउने उदेश्यले नै विभिन्न बखेडामार्फत एमालेकै पूर्वअध्यक्ष माधव नेपाल तथा झलनाथ खनाललाई पार्टीबाटै धपाएका ओली १० औं महाधिवेशनमा आँफुसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भिम रावललाई पनि लामो समय भुमिकाविहिन राखेर केहीसमय अघि मात्रै पार्टीबाटै निस्कासन गरेर एकल हैकममा हुनुहुन्छ।
यहिबिचमा अहिले भण्डारीले आमागी महाधीवेशनबाट पार्टीको नेतृत्व हत्याउने गरी सक्रियता बढाएपछी ओली र भण्डारीबिचको ‘सम्बन्ध’मा दरार आएको प्रष्ट देखिन्छ। फलस्वरुप ओलीले अनेरास्ववीयूको महाधीवेशनमा सम्बोधनकै क्रममा आक्रोश पोख्नुभयो।
सम्बोधनमा ओलीले महाधिवेशन नलाग्दै ‘को आउने’ भन्ने चर्चा गरिएकोमा आपत्ति व्यक्त गर्दै पार्टीभित्रको एकता भड्काउने गरी फेरी अर्को खेल हुन खोजेको र महाधिवेशन घोषणै नहुँदै विभिन्न पदका मान्छे घोषणा गरेको भन्दै आक्रोश पोख्नुभयो ।
ओलीको यो अभिव्यक्तिपछी ‘पार्टी नेतृत्वमा भावी नेतृत्वबारे’ विद्या भण्डारीप्रति नै लक्षित रहेको भन्दै एमालेभित्रबाटै पनि विभिन्न टिप्पणी र आक्रोश व्यक्त हुन थालेका छन्। त्यतिबेलै विराटनगरमा रहेकी भण्डारीको पनि पार्टीका कार्यक्रमसँगै नेता, कार्यकर्ताको मनोभाव बुझने गरी भेटघाट पनि बढाउनुभयो ।
त्यसपछी आँफु गुट नगर्ने मान्छे भएकोले अध्यक्ष ओलीले पनि आँफुलाई लक्षित गरेर भनेजस्तो नलागेको भन्दै उहाँले एमालेको महाधिवेशन आउँदै गर्दा कार्यकर्तालाई थुमथुम्याउने भाषालाई ओलीको ‘संकेत शैली’ मात्र मान्नुभयो।तर पार्टी नेतृत्वमा आफ्नो दाबीप्रति गहिरो संकेत दिनेगरी कडा जवाफ दिनुभयो।
यससँगसँगै भण्डारीले पार्टीमा विगतदेखी नै आँफुले काम गरेरै यहासम्म आएको र आगामी दिनमा पनि दाबी स्वभावीक रहेको उहाँले तर्क गर्नुभयो। चीन भ्रमणपछि झापा पुगेर एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा पार्टीभित्र असन्तुष्टि बढेको विषयमा उहाँले कार्यकर्ता भेट्न र घुमफीर गर्न कसैको अनुमति लिइरहनु नपर्ने भन्दै ओलीलाई घुमाउरो तरिकाले जवाफ फर्काउनुभयो।
भण्डारीका पछिल्ला दिनमा बढेका सक्रियताले राजनीतिक आकांक्षा र नेतृत्व मोह प्रष्ट झल्किन्छ। सँगै भण्डारी राष्ट्रपति रहेका बेला उपराष्ट्रपति रहनुभएका नन्दबहादुर पुन माओवादीको उपाध्यक्ष बनेर राजनीतिमा फर्किएपछी थप सक्रियता बढाउनुभएकी भण्डारीलाई एमालेको नेतृत्व लिन एमालेभित्रबाटै दबाब पनि बढ्न थालेको बुभिन्छ।
यसैले गर्दा नै विगतका निकट सहयोगी भण्डारी र ओली उत्तरार्धमा आएर एकै पदकै लागि भिड्लान् त? भन्ने प्रश्न मात्रै खडा गरेको छैन एमालेभित्र अब ‘ओलीपछिको नेतृत्व कसको’ भन्ने बहसलाई पनि औपचारिक रुपमै सतहमै ल्याइदिएको छ। सँगै वर्तमान अध्यक्ष ओलीको ‘एकछत्र शैली’ अब कमजोर हुँदै गइरहेको आभास पार्टीभित्रै बढ्दै छ, र यो परिवर्तनको चाहना नयाँ पुस्तामा पनि स्पष्ट देखिन थालेको छ।
यही बेलामा यदी भण्डारीको सशक्त भुमिका रहे एमालेको आगामी महाधिवेशनमा एउटा सशक्त नेतृत्व प्रतिस्पर्धा सुनिश्चित बनाउने छ—जसले अब ओलीवाद मात्र हैन, भण्डारी ब्राण्डको विचार र कार्यशैली पनि एमालेभित्र निर्णायक बन्नेछ। भन्ने तर्कसमेत हुन थालेको छ।