काठमाडौं । लामो समयको संवादहिनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज दुईदिने औपचारिक भ्रमणमा नेपाल आउनुभएको छ । भारतले मिचेको आफ्नो भूमि समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध यस परराष्ट्र सचिवस्तरीय भ्रमण र छलफलले सकारात्मक दिशातर्फ डो¥याउने अपेक्षा गरिएको छ ।
यसअघि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाने पनि नेपाल आएका भएपनि यस परराष्ट्र सचिवस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध सुदृढमा अझ बढी टेवा पुग्ने कूटनीतिज्ञ र सीमाविदहरुको अपेक्षा छ ।
भारतीय विदेश सचिव श्रृंगलाले पनि आफ्नो नेपाल भ्रमणले दुई देशबीच मित्रता बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली भाषामै सम्बोधन गर्दै उहाँले नेपाल आउन पाएको खुशी लागेको र दुई देशबीचको मित्रता थप मजवुद्ध बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
भारतीय विदेश सचिव शृङ्गलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसहित आफ्ना समकक्षी भारतराज पौडेलससँग भेटवार्ता गर्नुभयो ।
वर्ष दिन लामो संवादहीनतालाई तोड्दै आज द्धिपक्षीय छलफल भए पनि दुई देशबीच रहँदै आएको लामो समयको सीमा विवादको विषयमा भने निष्कर्षसहितको छलफल हुन सकेन । छलफलमा दुई देशबीचको आपसी हित र सीमा विवादका बिषयमा छलफल भएपनि यसबारे कुनै ठोस निष्कर्ष भने ननिस्कीएको स्रोतले बतायो ।
कूटनीतिज्ञहरुले पनि सीमा विवादमा तत्काल समाधान खोज्ने अवस्था नरहेको बताएका छन् । कूटनीतिज्ञ प्रा. डा. लोकराज बरालले सीमा विवाद समाधानका लागि समय लाग्ने र धैर्यता चाहिने बताउनुभयो ।
यता, सीमाविद् बुद्धिनारायण श्रेष्ठले वार्ताको माध्यमबाट सीमा समस्याको हल खोज्नुपर्नेमा जोड दिँदै भारतले पनि अहिले आएर समस्याको समाधान चाहेको बताउनुभयो । एक वर्षको संवादहिनता तोड्दै अहिले चल्मलाउनु नै भारतले पनि दुई देशबीचको सीमा समस्यामा समाधान चाहनु हो भन्दै सीमाविद् श्रेष्ठले यसमा नेपालले बुद्धिमताका साथ कुरा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
सीमा विवादबारे सरकारले कूटनीतिक नोटहरु पाठाउनेदेखि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यी कुराहरु राखिएको भएपनि नेपाल सरकारले आफ्नो तर्फबाट शसक्त कूटनीतिक माध्यम परिचलन गर्न नकेको सीमाविद् श्रेष्ठको भनाइ छ ।
भारतले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समावेश गरेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा चर्को विरोध भएको थियो । पछि फेरि भारतले सोही भूमि हुँदै नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेपछि सीमा विवाद झनै चुलिएको थियो ।
त्यसपछि नेपाल सरकारले ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी ग¥यो ।
नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै भारतले नेपालको उक्त नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बतायो । त्यसपछि चिसिएको नेपाल–भारत सम्बन्ध अहिले सम्म मैत्रीपूर्ण विन्दुमा पुग्न सकेको छैन ।
सीमा विवाद पछिको यो परराष्ट्र सचिवस्तरीय भ्रमण र छलफलले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने कूटनीतिज्ञ, सीमाविद् र सरोकारवालाको अपेक्षा छ ।