काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहित तीन जनाको सुरक्षामा खटिएका प्रहरीहरुलाई सरकारले फिर्ता बोलाएको छ । राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) हरुलाई सरकारले बुधबार फिर्ता बोलाएको हो ।
प्रमुख सचेतक ज्ञान बहादुर शाही, पूर्वाधार विकास समिति सभापति दिपक सिंह र सांसद ध्रुवबहादुर प्रधानको सुरक्षार्थ खटिएका प्रहरीलाई फिर्ता बोलाइएको राप्रपाले बताएको छ । प्रधान पूर्वआइजिपी रहेकोले पिएसओ दिइएको थियो।
प्रहरीका अनुसार नियमित ब्रिफिङका लागी सांसदहरुको सुरक्षामा खटिएका प्रहरी(पिएसओ) हरुलाई बोलाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले नियमित ब्रिफिङको लागी उनीहरुलाई बोलाइएको बताउनु भएको छ।
यता पीएसओ फिर्ता बोलाइएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ हटाएको विषयमा आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय भएको बताउनुभयो । सरकारले सुरक्षाकर्मी हटाउनुको पछाडी पछिल्लो समय राप्रपाले अगाडी बढाएको राजावादी आन्दोलनको कारण रहेको राप्रपाका प्रमुख सचेतक शाहीको आरोप रहेको छ ।