काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ। पूवराजा ज्ञानेन्द्र शाहका समर्थकको सक्रियता बढिरहेका बेला उनले गणतन्त्रवादीहरू गणतन्त्र र संविधानको रक्षाका लागि एक हुनुपर्ने आवश्यकता औँल्याउनु भएको हो ।
अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक रहेको भन्दै प्रचण्डले सुशासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको बताउनु भएको हो ।गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्न गोरखा पुग्नुभएका प्रचण्डले युवाहरू बिदेसिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताउनु भएको छ । बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्ने बताउँदै प्रचण्डले बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ हुँदा जनतालाई धेरै पीडा भइरहेको भन्दै यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका बताउनु भएको हो ।
गाउँगाउँमा सिंहदरबार भनेर परिकल्पना गरेर संविधान बनाएपनि जनताले सुविधा सम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सके मात्र त्यसको औचित्य पुष्टी हुनसक्ने टिप्पणी गर्नुभयो । उहाँले पछिल्लोसमय सघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याउनु भएको छ ।