काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए ।
विमानस्थलमा उनले नेपाली भाषामै पत्रकारहरुलाई प्रतिक्रया दिएका छन् । सो अवसरमा उनले नेपाल पहिले पनि आएको जानकारी दिए ।
‘नेपालमा आउँदा म निकै खुशी छु । रमाइलो लागेको छ । म पहिला पनि काठमाडौं आएको थिएँ । तर, विदेशसचिवका रुपमा पहिलोपटक आज आएको हुँ’, उनले भने, ‘भारत र नेपाल निकटतम मित्र हुन् । मेरो धैरैवटा बैठक हुन्छ आज । नेपाल र भारतबीचको सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे ती मिटिङमा कुराकानी हुन्छ ।’
विदेशसचिव श्रृंगलाले आफ्नो पहिलो बैठक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग हुने बताए ।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम छ ।