काठमाडौं। आज ३२ औँ मदन–आश्रित स्मृति दिवस, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको आज ३२ वर्ष पुरा भएको छ। कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले जनताको बहुदलीय जनवाद(जबज)को विकास गर्नुभएको थियो।
देशको परिवर्तनका लागी र जनताका समस्यामा जिउ ज्यान नै दाउमा राखेर खरो उत्रिने एक सच्चा कम्युनिष्ट विचारक नेताको छबी बनाउनु भएका नेताद्वय भण्डारी र आश्रितको कास्कीको पोखरामा तय भएको सभामा सम्बोधन गर्न जाँदै गर्दा २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी रहस्यमय रुपमा निधन भएको थियो।
दुर्घटनापश्चात उक्त घटनाका एकमात्र साक्षी एवं भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत पछि २०६० हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुग्यो भने अहिलेसम्म भएका छानबिनले हत्या या दुर्घटना के हो? र किन तथा कसरी भयो? भन्ने कुनै तथ्य नै निकाल्न सकेनन्। बरु अध्ययन पछीका प्रतिवेदन नै गुपचुप राखियो।
उक्त दुर्घटनापछि देशमा गिरिजाप्रसाद कोइरालादेखी मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईदेखी वर्तमान प्रधानमन्त्री एमालेकै अध्यक्ष केपी शर्मा ओली पटकपटक नेतृत्वमा पुगेका छन् भने स्वयं मदन भण्डारीकै पत्नि विद्यादेवी झण्डारी नै दुईदुई कार्यकाल राष्ट्र प्रमुख अर्थात राष्ट्रपति बन्दा पनि अहिलेसम्म यो घटना हत्या थियो या दुर्घटना? न अनुसन्धान र सत्यतथ्य पत्ता लगाउने प्रयत्न भयो नत रहस्य नै तोडियो।
बरु बिस्तारै समय बित्दै जाँदा मदन–आश्रित मृत्यु प्रकरण अर्थात यो घटना हराउँदै जान थालेको छ, प्रमाणस्वरुप आजको दिनबाहेक वर्षभरी नै यो विषय न कतै उठान हुन्छ, न कुनै कार्यक्रम हुन्छन् त न कुनै यो घटनाका बारे विचार विमर्श ।
यीनै कार्यक्रममा पनि स्वयं विद्यादेवी भण्डारीसँगै एमाले अध्यक्ष ओलीदेखी हालका एमाले नेताहरु र पूर्व एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल कसैले पनि यो घटना किन? कसरी? के कारणले भयो ? यसको सत्यतथ्य पत्ता लगाउने कुरा त टाढाको कुुरा मदन आश्रीतकै नाम लिन पनि कन्जुस्याँँई गरेको देखिन्छ।
आज मदन–आश्रित स्मृति दिवसमा एमाले र एमालेबाट झुटिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीले गरेका छुट्टाछुट्टै कार्यक्रममा पनि मदन–आश्रित मृत्यु र घटनाबारे विमर्शभन्दा बढी आ आफ्नै स्वार्थ र एकअर्काप्रतिको आरोप प्रत्यारोप नै देखिन्थ्यो।
यद्यपी दोश्रो तहका नेताहरुबाट भने बाहिरका कार्यक्रममा घटना र मदन आश्रीतको योगदानप्रति केही चर्चा सुनियो। एमाले नेता एवं वर्तमान भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले घटनापछी यो घटना रहस्यमय नै रहेको बताउनुहुन्छ । यो घटना हत्या नै रहेको दाबी गर्दै उहाँले यो घटना पनि विश्वका अन्य घटनाहरुजस्तै रहस्यमयी रहेपनि अनुसन्धान छाड्न नहुने बताउनुहुन्छ।
यस्तै नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वाला मदन आश्रीतको हत्या नै भएको निष्कर्शमा आम जनतासमेत पुगिसकेको भएपनि पटकपटक कम्युनिष्ट पार्टी र नेताहरु सरकारको नेतृत्वमा पुगेपनि सत्यतथ्य पत्ता लगाउन नसक्नु दुखद रहेको बताउनुहुन्छ।
यस्तै पूर्व एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि मदन आश्रितले पार्टीमा महत्वपूर्ण योगदान दियर पार्टीको उचाई माथी पुराएको बताउनुभयो। उहाँहरुको योगदानलाई अझै उचाईमा पुराउन सबै एकजुट हुन आवश्यक रहेको बताएपनि नेपालले पनि घटनाको बारेमा खासै महत्व दिएको देखिएन ।
यस्तै अर्का पूर्वप्रधानमन्त्री एवं पूर्वएमाले नेता हालका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट विचारधारा नै हराउँदै गएकोले अब सबै कम्युनिष्ट पार्टीबिच बृहत एकता गरी एकताबद्ध हुनुपर्ने र देशमा सवाजवाद स्थापना गर्नुपर्ने बताउनुभयो। खनालले पनि मदन आश्रीत मृत्यु घटनाबारे खासै महत्व दर्साउनुभएन।
यस्तै दासढुँगा घटनालाई नजिकबाट बुझेका व्यक्तिसमेत मानिने एमाले नेता काँशीनाथ अधिकारीले पनि मदन आश्रीतकै जगमा जनताको बहुदलीय जनवाद स्वथापना भएकोले यसलाई कसैले भुल्न नहुने बताउनुहुन्छ। उहाँले जवज नेपालको सफल राजनैतिक सिद्धान्त पुष्टी भएको र यो मदन आश्रीतबाटै स्थापीत भएको बताउनुभयो ।
यस्तै प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष स्वयं केपी शर्मा आलीले पनि आज घटनाभन्दा पनि कम्युनिष्ट विचारधारा र पार्टीबाट छुटिएर गएका माधव नेपाल, झलनाथ खनालप्रति नै समय धेरै खर्चिनुभयो।
मदनआश्रीत घटनाबारे चासै नदेखाउनुभएका प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्ट विचारधारा एकतावद्ध हुनुपर्ने आवश्यकता भएपनि विगतमा पार्टी नै क्षतविक्षत बनाउने रणनीति लिएर हिँडेकालाई परास्त गर्दै आज पुनः उहि ठाउँमा र सरकारको नेतृत्वमा आएकोले अब विचारमा सहमत हुनेसाग मात्रै एकता हुने बताउनुभयो।
यता, दासढुँगा घटनाको ३२ वर्ष पुरा हुँदा सम्म पनि घटना रहस्यमै रहनुमा जानकारहरु भने एमाले नेतृत्वकै वेवास्ता रहेको बताउँछन् । राजनैतिक विश्लेसक गोविन्दमानसिंह कार्कीले यो घटना छानबिन गर्दा एमाले भित्रबाटै शिर्ष नेताहरु नै पर्न सक्ने जोखिम देखेपछी यसको अनुसन्धान नगरिएको बताउनुहुन्छ ।
अनुसन्धान गर्न स्वयं पार्टी अध्यक्ष ओलीसँगै शिर्ष नेताहरु र मदनपत्नि विद्यादेवीकै चासो नरहेको उहाँको बुझाई छ। एमालेका नेताहरु पटकपटक प्रधानमन्त्री र विद्यादेवी दुईपटक राष्ट्रपति बनेर अबसर लिएपनि घटनामा तैं चुप मैं चुप गरेको र वास्तवमा घटनासँग पद साटेको जस्तो देखिएको उहाँको तर्क र टिप्पणी छ।
यो घटना ३२ वर्ष पुरा हुँदासम्म रहस्यकै गर्भमा रहनु साच्चिकै शंकापूर्ण रहेको छ। त्यसमाथी अहिलेसम्म षड्यन्त्र हो कि, दुर्घटना ? भन्ने आशंका मेटाउन विभिन्न समयमा छानबिन आयोग गठन भएर प्रतिवेदन तयार भएपनि प्रतिवेदन नै सार्वजनिक नहुँदा एमाले नेताहरु र ओली तथा विद्यादेवीमाथी प्रस्श्त आसंका उब्जीएका छन्।
आफ्नै पार्टीका शिर्ष एवं प्रभावशाली नेताहरुकै घटना रहस्यमा राखेर एमाले नेताहरु पटकपटक देशको नेतृत्वमा पुगेका छन् भने त्यसपछीको यो अवधी पुरै एमाले तथा कम्युनिष्ट नेताहरुकै पेरीफेरीमा देश घुमेको छ तरपनि अहिलेसम्म गम्भिर अनुसन्धान गर्ने प्रयत्न नगर्नु कहाँसम्मको लाजमर्दो पक्ष हो ? ३२ वर्ष पुरा हुँदासम्म घटनाका दोशी कारबाही त परको कुरा घटना षड्यन्त्र हो कि, दुर्घटना ? यति पत्ता नलाग्नु पनि दुखद कुरा हो।