Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकार सगरमाथा संवादको अन्तिम तयारीमा, ४० देशका प्रतिनिधिसहित चारसय बढी सहभागी हुँदै, महत्वपूर्ण अन्तराष्ट्रिय मञ्च बन्ने अपेक्षा (खासखबर)

सरकार सगरमाथा संवादको अन्तिम तयारीमा, ४० देशका प्रतिनिधिसहित चारसय बढी सहभागी हुँदै, महत्वपूर्ण अन्तराष्ट्रिय मञ्च बन्ने अपेक्षा (खासखबर)

  • मंगलवार, बैशाख ३० २०८२

  • 326
    SHARES

  • सरकार सगरमाथा संवादको अन्तिम तयारीमा, ४० देशका प्रतिनिधिसहित चारसय बढी सहभागी हुँदै, महत्वपूर्ण अन्तराष्ट्रिय मञ्च बन्ने अपेक्षा (खासखबर)

    काठमाडौं। नेपालले पहिलोपटक सगरमाथा संवादको आयोजना गर्दैछ। सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गरेको उक्त संवादको तयारी अन्तिममा पुगेको जनाएको छ।

    सरकारले‘जलवायु परिवर्तन,पर्वत र मानवताको भविष्य’अर्थात‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ विषयमा गर्न लागिएको उक्त संवादमा झण्डै ४०देशका १५० बढी पाहुनासहित राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब चारसय जनाको सहभागीता हुदैछ।

    विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको यो संवादको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो। नेपालले संवादमार्फत विश्वका जल्दाबल्दा समसामयिक मुद्दाहरूमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्री, नीति निर्माता, विज्ञ, सञ्चारमाध्यम, व्यापारिक समुदायबीच बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु उद्देश्य लिएको छ।

    संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल, विभिन्न विषयमा १२ वटा समानान्तर सत्रसँगै केही साइड इभेन्ट पनि हुनेछन् भने तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडान र संवादको काठमाडौँ घोषणा जारी गरिने छ।

    संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर,दिगो हरित अर्थ व्यवस्था,जलवायु हानि नोक्सानी न्यूनीकरण,जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफलसँगै संयुक्त राष्ट्रसङ्घले २०२५लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा पनि महत्वका साथ हिमालका विषय उठाइने छ।

    संवादमा संरक्षणमा नेपालले गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि समेत उपयोगीसिद्ध हुने अपेक्षा लिइएको छ भने संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने तयारी छ।

    विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्शमा समर्पित हुनेगरी बहु–सरोकारवाला संवाद मञ्चको रूपमा स्थापीत गर्ने उदेश्यले आयोजति सगरमाथा संवादले सकारात्मक परिवर्तनका लागि बहसलाई आकार दिन र अगाडि बढाउन सक्ने सरोकार, प्रभाव र क्षमता भएका समाजका बृहत् तप्काका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको जानकारी दिइएको छ।

    सगरमाथा संवादको तयारीबारे जानकारी दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत राईले यो संवादको पहिलो श्रृङ्खलामा जलवायु परिवर्तनका विषयमा छलफल हुने जानकारी दिनुभयो।

    सगरमाथा सम्मेलनमा छिमेकी देश भारत र चीनलगाएतका देशबाट राष्ट्र प्रमुख तथा प्रतिनीधिको सहभागीता रहने र यसमा जलवायु परिवर्तन पर्वतीय समस्या समाधान र सम्भावनामा जोड दिइने संवादका संयोजकसमेत रहनुभएकी परराष्ट्रमन्त्री डा.राणाले जानकारी दिनुभयो।

    यस्तै परराष्ट्रमन्त्री डा.राणाले सगरमाथा संवाद नेपालको विश्वव्यापी मञ्च रहेकोले एक स्थायी कूटनीतिक मञ्चको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै संवादमा जलवायु परिवर्तनबाट प्रभावित हाम्रो समुदाय, वैज्ञानिक, नीति निर्माता र विश्वका नेताहरूलाई एकसाथ ल्याएर समाधान खोज्ने अवसर रहेको बताउनुभयो।

    संवादको तयारीमा निर्देशक, व्यवस्थापक र सचिवस्तरीय गरी तीन समिति परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री कार्यालय सक्रिय छन्। सरकारले करिव १० वटा पूर्वसंवाद कार्यक्रम गर्दैछ।

    संवादको तयारी अब अन्तिम चरणमा पुगेको जानकारी दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले संवादमार्फत जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याका बारेमा व्यापक छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्न र समस्या समाधानमा केन्द्रित गर्न सफल हुने विश्वास लिइएको बताउनुभयो।

    यता विज्ञहरुले पनि सगरमाथा संवादमार्फत नेपालले जलवायु परिवर्तनकाकारण भोग्नुपरेका समस्या उजागर गर्न सक्नुपर्नेमा जोड दिएका छन्। जलवायुविज्ञ डा. दिपनारायण शाहले संवादमा जलवायु परिवर्तनसंबन्धी सबै विषय महत्वकासाथ उठाउनुपर्ने भएपनि जलश्रोतमा परेको प्रभावलाई विषेश प्राथमीकता दिनुपर्ने आवश्यकता औल्याउनुहुन्छ।

    हिमालय पग्लिने क्रम अति तिब्र रहेकोले यसमा निर्भर नदिनालाबाट कृषी,हाइड्रोलगायतका थुप्रै क्षेत्रहरु जोखिममा परेकोले यी विषय उठान हुँदा विषेश महत्व राख्ने उहाँको भनाई छ।

    नेपालले पहिलोपटक गर्न लागेको सगरमाथा संवादले अति महत्व राख्ने शाहको भनाई छ।यस संवादबाट धेरै अपेक्षा गर्न नसकिएपनि जलवायु परिवर्तनसम्बन्धी छलफलको सुरुवात गर्ने भएकोले यसमा आफ्ना समस्या उठान गर्ने महत्वपूर्ण मञ्चको स्थापना हुने भएकोले यसलाई विषेश रुपमा लिनुपर्ने उहाँको भनाई छ।

    सरकारले सगरमाथा संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय गरेको छ। बढ्दो जलवायु परिवर्तनका असर, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र नागरिक आक्रान्त् छन्।

    त्यसैले विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा भूमिका न्यून भएपनि जलवायु परिवर्तनको असरबाट अत्यन्त प्रभावित हाम्रो देश नेपालले यो सम्मेलनमार्फत जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन र सामूहिक कल्याण प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने एक जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य राखेर संवादको पहिलो संस्करण नै हिमाल संरक्षणमा केन्द्रित गर्दैछ।

    विश्वको तेस्रो धु्रव सर्वोच्च शिखर सगरमाथाको गौरव बोकेको नेपाल जलवायु परिवर्तनका असरप्रति संवेदनशील छ भन्ने प्रमाणस्वरुप नेपालले आयोजना गरेको सगरमाथा संवादको नवीन अवधारणा विश्वमञ्चकै एक गौरवको विषय हो।

    नवीन प्रविधि, विश्व जलवायु जोखिम साझेदारीलगायतका विषयमा नवीन अन्तर्राष्ट्रिय मञ्चका रूपमा समेत विकास हुने अपेक्षा रहेकोले नेपालले गौरव गर्ने कार्यव्रmम बन्ने गरी सगरमाथा संवाद कार्यक्रम सफल पार्न जरुरी छ।


    मंगलवार, बैशाख ३० २०८२०८:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij