काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।
‘एउटा सरकारको ठाउँमा अर्काे सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो,’ उहाँले भने, ‘फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु ।’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै नयाँ कार्यक्रम ल्याइएको चर्चा गर्नुभएको छ । नयाँ समीकरणबाट नयाँ सरकार बनेको भए पनि पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत र सान्दर्भिक कार्यक्रमलाई निरन्तरता उहाँले बताउनुभयो ।
सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकै कारण सरकारले आफ्ना नीति सार्वजनिक गर्दा, पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत तर सान्दर्भिक नीति तथा कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रधानमन्त्री ओलीले नीति कार्यक्रम–उही र उस्तै’ भन्ने टिप्पणीलाई नीति तथा कार्यक्रमलाई स्वभाविक रुपमा नै बुझिदिन आग्रह गर्नुभयो ।