काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताउनु भएको छ। जलवायु संट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने उहाँको भनाई छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरुमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिनुभएको छ । सनसनी फैलाउने समाचारले गतल सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा र पत्रकारहरू पेशागत रुपमा निरपेक्ष हुनुपर्नेमा उहाँको भनाई छ ।
यस्तै सोही कार्यक्रममा बोल्दै सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताउनु भएको छ ।
उहाँले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताउनुभयो । यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख समेत गर्नुभएको छ । प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने उहाँको भनाई छ ।
त्यसैगरी परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताउनुभयो। प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्ने मन्त्री राणाको भनाई छ ।