काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) विश्वविद्यालयमा केहि महिनाको अन्तरालमा दुई जना नेपाली छात्राले आत्महत्या गरेको घटनाले अहिले नेपाली विद्यार्थी, अभिभावक लगायत सबैजना सशंकित बनेका छन् ।
केहि समयकै फरकमा केआइआइटी विश्वविद्यालयको छात्रावासमा नेपालका दुई छात्राले ज्यान गुमाएको घटनाले भारतीय विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरू असुरक्षित महशुस गरिरहेका छन् ।
गुणस्तरिय उच्च शिक्षाको अध्ययनका लागि भारतीय विश्वविद्यालयमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीहरूलाई पछिल्लो समयमा लगातार शारीरिक तथा मानसिक यातना दिने घटना बढेको छ ।
उडिसा राज्यको केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बिहीबार बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा १९ वर्षिया प्रिसा साह झुन्डिएको अवस्थामा फेला परेकी थिईन् । उनी वीरगञ्ज निवासी हुन् । थप एक नेपाली विद्यार्थीले आत्महत्या गरेपछि अहिले विश्वविद्यालयविरुद्ध कडा कारवाहीको माग गरिएको छ ।
गम्भीर घटना दोहोरिँदा भारतको राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरिएको छ । राष्ट्रियसभामा आज सदस्यहरुले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन् । कलेजमा पढ्नका चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुने उनीहरूले माग गरेका हुन् ।
कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने बताउनुहुन्छ ।
केआइआइटीमा विद्यार्थी असुरक्षित भएको, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराईएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि जोड दिनुहुन्छ ।
आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी ती छात्रालाई उचित न्याय प्रदान गर्न पनि सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै यो घटनामा राज्य गम्भीर हुन र अभिभावकलाई पनि सचेत हुन आग्रह गर्नुभयो ।
केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंहले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नुभयो ।
लगातार नेपाली विद्यार्थी असुरक्षित भईरहेको यो अवस्थामा किट कलेजमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने कडा रुपमा माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसीले यो घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै सरकारको धारणा माग गर्नुभयो ।
सांसद्हरुले विश्वविद्यालयमा घटेको घटनाबारे जानकारी दिन माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययरत छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
गत बिहीबार कलेजकै छात्रावास कोठामा झुण्डिएको अवस्थामा फेला परेकी साहको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष दाहालले सरकारले जवाफ दिनुपर्ने बताउनु भएको हो ।
गत फागुन महिनामा केआईआईटीकै छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । उनको हत्या भएको भन्दै नेपाली विद्यार्थीले दोषीलाई पक्राउ र कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेपछि नेपाली विद्यार्थीमाथि दमन भएको थियो । उनीहरूलाई विश्वविद्यालय छोडेर स्वदेश फर्किन बाध्य बनाइएको थियो ।
उक्त घटनाबारे ओडिसा राज्य सरकारले छानबिन गर्न बनाएको एउटा समितिले हाल काम गरिरहेको बताइएको छ ।प्रकृतिको घटनापछि स्वदेश फर्केका कैयौँ नेपाली विद्यार्थीहरू उक्त घटनापछि पुनः अध्ययनका लागि त्यता जान चाहिरहेका थिएनन् ।
तर कलेजले सुरक्षाको आश्वासन दिएपछि उनीहरुफेरि फर्किएका थिए । लगातार एउटै कलेजमा यस्ता घटना दोहोरिएपछि सो कलेजका विद्यार्थीलाई कस्तो खालको दवाव र असर परिरहेको होला ? कलेजले कस्तो व्यवहार गरिरहेको होला ? कुन दवाव र मनस्थिति वनाएर विद्यार्थीहरु अध्ययन अगाडि बढाईरहेका होलान्? उनिहरुको वाध्यतालाई सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैले नेपाल सरकारले जतिसक्यो छिटो केआईआईटी विश्वविद्यालयका विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर्दै उचित वातावरणमा पढ्न सक्ने माहोल मिलाईदिनुपर्छ । मृतक छात्राहरुलाई न्याय मिल्ने गरि उचित कदम र दवाव सृजना गर्नुपर्छ । दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन् ।