काठमाडौं । गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताउनुभएको छ । आज आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उहाँले विपद्मा उद्धार गर्ने कार्यले देश तथा विदेशका मानिसको विश्वास र भरोसा बढाउँदै गएको बताउनुभएको हो ।
सीमा सुरक्षा, विपद्बाट मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय रहेको बताउँदै गृहमन्त्री लेखकले यही योगदानले सशस्त्र प्रहरी भरोसायोग्य बनेको जिकीर गर्नुभयो ।
मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्धारमा सशस्त्रले सहयोग पु¥याउने गरी प्रशिक्षित गरिएकाले आगामी दिनमा स्थानीयका साथै पर्यटकलाई सहज हुने उहाँको भनाई छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकको यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने भन्दै गृहमन्त्री लेखकले पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा यस तालिमले जिम्मेवारी थप भएको र जल उद्धारलाई जस्तै पर्वतीय उद्धारलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।