काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँमात्र बजेट छुट्याइए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।
उहाँका अनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उनले बक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बिमा कसरी चल्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
पौडेलले चालु आर्थिक वर्षमा महिनाको औसत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताउँदै गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौतासमेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने र बिमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने बताउनुभयो ।
सरकारको लगानी र नागरिकको योगदानबाट बिमा बोर्ड चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बिमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गर्नुभयो ।