काठमाडौं। सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ। पछिल्लो समय सरकार परिवर्तनको हल्ला चुलिएको समयमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता खड्काले यस्तो दाबी गर्नुभएको हो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता खड्काले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार ढलिहाल्ने तर्क गर्दै हिँडेपनि अहिले कांग्रेस एमालेको शक्तिसालि वर्तमान सरकार ढालेर पुनः अस्थिर प्रचण्डको विश्वास गर्ने सम्भावना नरहेको बताउनुभएको हो।
कांग्रेस नेताहरुबाटै सरकारको कार्यशैलिप्रति असन्तुष्टि देखिएपनि त्यो असन्तुष्टि सरकार ढाल्न नभै सरकार बलियो बनाउनका लागी रहेको उहाँले बताउनुभयो। यद्यपी सरकारले थप जिम्मेवार बनेर डेलिभरी दिनुपर्ने उहाँको जोड छ।
नेता खड्काले पछिल्लो समय सडकमा शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन,कर्मचारी आन्दोलनलगायत बढिरहेकोले यसतर्फ सरकारले जतिसक्दो छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
हिजोसम्म शान्तिपूर्ण रहेको शिक्षक आन्दोलन अकस्मात् झडपमा परिणत हुँदा धेरै घाइते भएको सन्दर्भमा दुख व्यक्तगर्दै उहाँले सरकारले छिटो माग संबोधन गरी विद्यालय फर्काउने वातावरण मिलाउनुपर्ने उहाँको धारणा छ।