काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाउनुभएको छ । अहिलेको सरकार गैरजिम्मेवार र सुशासन विरोधी सरकार भएको प्रचण्डको भनाई छ ।
अलिकति पनि राजनीतिक विवेक राख्ने र ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको बताउँदै प्रचण्डले अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकर शाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको जिकीर गर्नुभएको छ । चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको प्रचण्डको भनाई छ ।
यस्तै प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको बताउनुभएकोछ । प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप सकेत लगाउनुभयो ।
‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ । शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्यसका लागि छोटो बाटोबाट लानुपर्छ,’ प्रचण्डले भन्नुभयो । शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण गर्नुपर्ने बताउँदै उहाँले शिक्षकहरुको जायज माग पूरा गर्नका लागि सरकार तयार नभएको बताउनुभयो ।
उहाँले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताउनुभयो । सडक, सदन र मोर्चाबाट पनि देशको विषम राजनीतिलाई सहजीकरण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने प्रचण्डको भनाई छ ।