काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन् । ‘१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ । त्यसमा हाम्रो असहमति छ,’ नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भने ।
शिक्षकहरूको आन्दोलन प्रति आफूहरूको पनि समर्थन रहेको भन्दै उनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको बताए ।
‘सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,’ उनले भने । कर्मचारी खुसी भए गुणस्तरीय कानुन बन्ने भन्दै उनले यसअनुसार ऐन बनाउन आवश्यक रहेको बताए । यसैबीच, निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग राखेका हुन् । उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका छन् । ‘७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भने ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ । त्यसै दिन नै संसद्मा विधेयक पेस हुने वातावरण बन्नुपर्ने अध्यक्ष भट्टको आग्रह छ । कर्मचारी ट्रेड युनियनका नेताहरूले ऐन निर्माणमा दबाब दिन आन्दोलनमै जानुपर्ने अवस्था नबनाउन पनि आग्रह गरे ।
बैठकमा ट्रेड युनियनका नेताहरूले ट्रेड युनियन अधिकार, वृत्ति विकास, समायोजन, सरुवा प्रणाली, अन्तरतह समन्वय, अस्थायी करारको मागसम्बन्धी, स्थानीय तहको पदस्थापन, स्वास्थ्यी र संसद् सेवा कर्मचारीसम्बन्धी, अतिरिक्त सचिवको व्यवस्थालगायतका ११ बुँदे माग राखेका छन् ।