काठमाडौं। नेपाली कांग्रेसले अहिले भरखरै सरकार ढल्ने अवस्था नरहेको दावी गरेको छ। चौतर्फी रुपमा कांग्रेसले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन लागेको चर्चा चलेपछी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले यस्तो बताउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै डा. महतले सरकारले सोचेअनुसार काम गर्न नसक्दा असन्तुष्टि बढेको कुरा यथार्थ भएपनि सरकारपरिवर्तनको समय नआएको बताउनुभयो।
सरकारले गर्ने नियुक्ति तथा निर्णयहरु र भागबण्डामा प्रधानमन्त्रीले एकलौटी गर्न खोज्दा कांग्रेसकै नेताहरुले तिब्र असन्तुष्टि पोख्न थालेको सन्दर्भमा त्यो स्वभाविक रहेपनि सुरुमा पार्टीभित्र धारणा राख्नुपर्नेमा बाहिर सार्वजनिक गर्न नहुने बताउनुभयो।
जुन उत्साहले सरकार बन्यो त्यसअनुसार सरकारले डेलिभरी दिन नसक्दा अहिले तिब्र असन्तुष्टि बढेको स्वीकार गर्दै उहाँले सरकार र प्रधानमन्त्री यसतर्फ गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो। तर,अहिले यतिकै असन्तुष्टिले मात्रै सरकार नढल्ने दाबी गर्नुभयो ।