काठमाडौँ । सत्तारुढ दल नेकपा भित्र कुनै पनि नेतालाई बढीमा दुई पटकमात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बन्न पाउने व्यवस्था गर्नु पर्ने बहस बढेको छ । पार्टीका पुर्व अध्यक्षहरु तथा पुर्व प्रधानमन्त्रीहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाइरहेका बेला ओली पक्षका नेताहरुले यस्तो व्यवस्थाका लागि बहस अगाडि बढाउन लागेका हुन् ।
दुई पटक प्रधानमन्त्री भइसक्नु भएका र लामो समयदेखि पार्टी अध्यक्ष रहदै आउनु भएका पुष्पकमल दाहाल प्रचण्डलाई फेरी प्रधानमन्त्री वा अध्यक्ष बन्न नदिनेगरी ओली पक्षले दुई कार्यकालको बहस बढाएको हो ।
ओली निकट मानिनुहुने नेकपा नेता महेश बस्नेतले अमेरिका लगायतका धेरै देशमा दुई पटकभन्दा बढी पटक राष्ट्रपति वा प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै त्यस्तै अभ्यास नेपालमा अत्यावश्यक भएको दावी गर्नुभयो ।
उहाँले यस्तो व्यवस्था सकेसम्म संविधानमै राखेर सवै पार्टीमा लागु गराउनु पर्ने र नभए नेकपाको विधानमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, 'यस्तो व्यवस्था नगर्दासम्म प्रधानमन्त्रीको सवै समय पुर्व अध्यक्ष, पुर्व प्रधानमन्त्रीहरुको व्यवस्थापनमै जाने भयो ।'
बढीमा दुई कार्यकालको व्यवस्था गर्न सकिएमा क्षमतावान नयाँ पुस्ताले अवसर पाउने, राजनीति चलायमान हुने र विकासको गति पनि बढ्ने दावी गर्नुभयो । एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा नयाँपन र नयाँ उपलब्धी न्युन हुने भएकाले दुई कार्यकालको व्यवस्था देश र जनताका लागि फाइदाजनक हुने बस्नेतका भनाई छ ।
राम्रो गर्न सक्ने, देश, जनता र पार्टीलाई योगदान दिनेले एक दुई कार्यकालमै दिनसक्ने भएकाले फेरी फेरी दोहोर्याई रहनु उपयुक्त नहुने उहाँको तर्क थियो ।
नेकपा नेता बस्नेतले भन्नुभयो, 'उहाँहरु अध्यक्ष र प्रधानमन्त्री भएको कार्यकाल जनताले जानेकै छन्, त्यसकारण फेरी पनि उहाँहरु भइरहनुको हुनै औचित्य छैन ।'